१५ साउन, बुटवल : लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज (शुक्रबार) पदभार ग्रहण गरेका छन् ।
गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । शेरचन नियुक्त भएसँगै यादव बिहीबार बिदाइ भएर गएका छन् ।
गत वैशाख ६ गते पदबाट राजीनामा दिएका मुख्यमन्त्रीलाई अल्पमतमा रहँदा पनि यादवले आस्थाकै आधारमा सोही दिन पुनः मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै यादवसँग विपक्षी गठबन्धन रुष्ट थिए ।
नयाँ प्रदेश प्रमुखले पदभार ग्रहण गरेसँगै लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरुले विशेष अधिवेशनका लागि समावेदन गर्ने र मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने रणनीतिमा छन् ।
