५ पौंष, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले लक्षित समूहलाई कोरोनाविरुद्धको खोप लगाउन घरदैलो अभियान सञ्चालन गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गरेका छन्।
सोमवार मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्रीहरूसँग छलफल गर्दै लक्षित समूहलाई कोरोनाविरुद्धको खोपमा पहुँच पुर्याउनका लागि घरदैलो अभियान सञ्चालन गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गरेका हुन्।
सरकार सम्पूर्ण नेपालीलाई खोप दिन तयार रहेको र खोपको अभाव नरहेको भन्दै प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए। मन्त्री खतिवडाले पुष महिना भित्रमै खोप लगाउनेहरुको प्रतिशतमा वृद्धि हुने विश्वास पनि व्यक्त गरे।
उनले भने, ‘हाम्रो आव्हान भनेको सरकार सम्पूर्ण नेपालीलाई खोप दिन तयार छ। खोप हामीसँग छ। खोपको अभाव छैन, लगाइदिनुस्। घरदैलो अभियान चालेर भएपनि हामीले लक्षित समूह सबैलाई खोप लगाउने अभियानको रुपबाट सञ्चालन गर्नुपर्छ भनेर प्रधानमन्त्रीले आव्हान गर्नुभयो। पुष महिना भित्रमा अहिले जुन प्रतिशतको जनसंख्याले खोप लगाएका छन्, त्यो भन्दा धेरै नै माथिल्लो प्रतिशतले खोप लगाउनुहुन्छ भन्ने मैले विश्वास लिएको छु।’
खोप केन्द्रहरूलाई वृद्धि गर्नुपर्ने र तीनै तहको सरकारका साथसाथै जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, विभिन्न संघसंस्था, क्लवहरूको समेत सहयोग लिएर कोरोनाविरुद्धको अभियानमा लाग्नुपर्नेमा छलफलमा जोड दिइएको पनि मन्त्री खतिवडाले बताए।
उनले हाल १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई खोप लगाइरहेकोमा गैरविद्यार्थीहरूले पनि सम्बन्धित पालिका वा वडाको सिफारिसमा सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउन सकिने जानकारी दिए।
