९ चैत, मेचीनगर : उच्च अदालत इलामले झापाको मेचीनगर ७ को सार्वजनिक बाटो मासेको सम्बन्धी परेको रीटमा पहिलो सुनुवाई गर्दै मेचीनगर नगरपालिकालाई १५ दिनभित्र अदालतमा जवाफसहित हाजिर हुन आदेश दिएको छ ।
उच्च अदालत विराटनगरको इलाम इजलाशका न्यायाधीश दिनेशप्रसाद यादवले मंगलबार उक्त आदेश जारी गरेको रीट निवेदक होमनाथ प्रसाईले जानकारी दिएका छन् । मेचीनगर वडा नं ७ का प्रसाईले मेचीनगर नगरपालिकालाई विपक्षी बनाई इलाममा रीट निवेदन दिएका थिए । अदालतले रीट निवेदकको माग बमोजिम परमादेश आदेश किन जारी नगर्ने भन्दै विपक्षीलाई १५ दिनभित्र जवाफसहित अदालतमा हाजिर हुन आदेश गरेको छ र अदालतले १६ गते पेसी तारेख समेत तोकेको छ।
मुद्धामा निवेदकका तर्फबाट अधिवक्ता प्रेम प्रसाद बिमली र अधिवक्ता मनिराम निरौलाले बहस गरेका थिए ।
मेचीनगर नगरपालिकाले बिगत लामो समय देखि बाटो मासेको थियो। यो महेन्द्र राजमार्ग हुँदै मेचीनगर वडा नं ७ बाट सदरमुकाम भद्रपुर जोड्ने पुरानो बाटो हो।
सो बाटोको विषयमा आखित्यार अनुसंधान आयोगको कार्यलाय इटहरिमा समेत २ पटक मुद्दा दर्ता भएको थियो। पहिलो पटकको मुद्दामा आखित्यारले मालपोत कार्यलाय भद्रपुरलाई बाटो खुलाउन आदेश दिइ नगरपालिकालाई समेत बाटो खुलाउन पत्रचार गरे पनि मेचीनगरलेले कुन्नै चासो दिएको थिएन।
विभिन्न समयमा नगरपालिका विरुद्ध होमनाथ प्रसाईको अगुवाइमा प्रतापसिंह रुम्बा तामाङ , पुष्प अर्याल, दिपक तिम्सिना, रतिलाल मुन्डाले ५ पटक निवेदन समेत दिएको र सो बारे नगरपालिकाले आलटाल सधै गर्ने गरेको र बाध्य भएर नगरपालिका विरुद्ध उच्च अदालतमा जानु परेको होमनाथ प्रसाईले जानकारी दिनु भएको छ |
हेर्नुहोस् उच्च अदालत इलाम इजलासको आदेश :




