२९ चैत, काठमाडौँ : स्थानीय तहका प्रमुख र उपप्रमुखमध्ये एक जनामा मात्र उम्मेदवारी दिँदा महिला अनिवार्य गर्नु नपर्ने भएको छ ।
निर्वाचन आयोगले यसअघि राजनीतिक दलहरुलाई निर्देशन दिँदै प्रमुख र उपप्रमुखमध्ये एक जनामा मात्र उम्मेदवारी दिँदा महिला अनिवार्य गर्नुपर्ने बताएको थियो ।
तर राजनीतिक दलहरुले निर्वाचन आयोगको यो व्यवस्था निर्वाचन कानुन विपरीत हुने भन्दै आलोचना गरेपछि आयोग पछि हटेको छ ।
आयोगले मंगलबार एक सूचना जारी गरी प्रमुख र उपप्रमुखमध्ये एक पदमा मात्र उम्मेदवारी दिएमा महिलालाई प्राथमिकता दिन भनेको छ । आयोगले मंगलबार जारी गरिएको आयोगको सूचनामा उक्त निर्देशनको ६ नम्बर बुँदा सच्याउँदै भनिएको छ, ‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने ।’