विहीबार १६ पौष २०७७
काँकरभिट्टा । कोरोनाको नयाँ प्रकार पहिलो पटक सेप्टेम्बर महिनामा फेला परेको र मध्य डिसेम्बरसम्म आइपुग्दा यो झन्डै दुई तिहाइ सङ्क्रमितमा देखिएको छ।
अहिले विश्व नै त्रसित भैरहदा नेपालले पनि सतर्कता अपनाउन थालेको छ ।कोरोना भाइरसको नयाँ प्रकार भारतमा पनि फेला परेपछि सीमा नाकामा निगरानी तथा क्वारन्टिनको नियम फेरि लागू गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गृहकार्यमा जुटेको छ ।
सीमाका विभिन्न ठाउँमा हेल्थ डेस्क राख्ने र जनशक्ति बढाउने गरी विभिन्न निकायहरूसँग समन्वय भइरहेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।
यूकेबाट नेपाल आएकामध्ये हालसम्म पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएको र नयाँ प्रकारको कोरोना भाइरस भए–नभएको पुष्टिका लागि नमुना हङकङ पठाउन लागिएको उनीहरूले बताएका छन् ।
नयाँ कोरोना भाइरसका संक्रमित भारतमा समेत भेटिन थालेपछि नेपालमा पनि भित्रिन सक्ने चिन्ता बढेको छ ।
भारतबाट कोरोना भाइरसको नयाँ प्रकार नेपाल भित्रिन सक्ने सम्भावना उच्च रहेको निष्कर्ष सरकारी अधिकारीहरूले पनि निकालेका छन् । हवाई र स्थल मार्गबाट आएकाहरूलाई क्वारेन्टिन र परीक्षण अनिवार्य गर्नेगरी काम सुरु गर्न लागिएको अधिकारहिरुको भनाइ छ ।
