१३ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नपठाएको प्रेमपत्र–४

सेयर:
प्यारी सपु,
हृदयभरीको माया केवल तिमीलाई………………..
सपु, आजको दिनको जस्तो अनुभूति मलाई कहिल्यै पनि भएको थिएन । सायद यस पत्रको भावनामा तिम्रा नजरहरु एकोहोरिन थाल्दा म तिमीबाट धेरै टाढा पुगिसकेको हुनेछु । आज तिमी संग विछोडको हात मिलाएर टाढा हुनुपर्दा मेरो मन भारी भएको छ । यो मनमा परेको पीडाको महशुस आज मैले राम्रो सँग गरेको छु । मेरो कहिल्यै पनि तिमीबाट टाढा हुने चाहना थिएन नानु तर पनि आज म तिमीलाई छोडेर जादैछु । एक पल पनि तिमीलाई नहेरी बस्न नसक्ने म कसरी यति लामो समय तिमी विना विताउन सक्छु भनेर आफ्नै मनलाई प्रश्न गरिरहेको छु । मन मुटु तिमीलाई छोडेर यो शरीर लिएर म हिडेको छु । एक क्षण तिमी विना बस्न त मलाई कति गाह्रो हुन्थ्यो भने अब त म कति धेरै लामो समयको लागि तिमीबाट टाढा हुँदैछु । यो समय मेरो जीवनकै कहाली लाग्दो कालखण्ड हुनेछ । मैले तय गरेको सबैभन्दा कठोर यात्रा हुनेछ यो समयावधी मेरो लागि ।
नानु हिजो पनि रातभरी निन्द्रा लागेन । केवल आँखाबाट अविरल आँसुका धाराहरु निरन्तर बगिरहे……बगिरहे…..। सायद तिमीले यो पत्र पढीरहदा बसको यात्रा सँगै मेरो आँखाबाट आँसुका धाराहरु निरन्तर बगिरहेका हुनेछन् । के गर्नु नानु म मायाको यति गहिराइमा पुगेछु कि त्यहाँबाट बाहिर आउन अब मेरो जीवनमा म कहिल्यै पनि सक्दिन । नानु तिमी एकपलको लागि मात्रै रिसायौं भने मेरो होश हवास नै उड्थ्यो । म के गर्दैछु के गर्दैछुइन मलाई नै थाहा हँुदैन थियो । जसलाई म सदैव हेरिरहन चाहन्थे उसैलाई छाडेर जानुपर्दा त आज म साच्चिकै ज्यादा गम्भीर भएको छु । भावनामा डुबेर कति आँसु बगाएँ, त्यसको त लेखाजोखा नै छैन । नानु मैले सपना देखेको छु तिम्रो मायामा हराउने । मैले एउटा सुन्दर संसारको कल्पना गरेको छु जहाँ तिमी मलाई हातमा हात साथमा साथ दिएर मेरो जीवन संगिनी बनी हरबखत मलाई साथ दिइरहेकी हुनेछौं । जीवनका हरेक क्षण म तिम्रो बाहुमा लुटुपुटु भइरहेको हुन्छु । काम गरेर थाकेको शरीर लिएर जब म साँझमा घर आइपुग्छु तिम्रो ठूला ठूला लोभलाग्दा रसिला आँखा अनि हँसिलो मुहारले मलाई स्वागत गर्दा मेरो थकान तिमीलाई देख्ने वित्तिकै म विर्सन्छु । तिम्रो हातले बनाएको मिठो खाना खान पाउदा म आफूलाई असाध्यै भाग्यमानी श्रीमान् सम्झनपुग्छु । म सदैव यही सपना देख्छु कि म तिम्रा हरेक पाइलामा तिम्रो सारथी बन्न सकूँ । आफ्नो क्षमताले भ्याए सम्म तिमीलाई खुसीहरुले सिच्न सकूँ । यही परिकल्पना भित्र मेरो आधार स्तम्भ पढाइ भएको छ । यही पढाइले आज मलाई तिमीबाट टाढा बनाएको छ । तर मलाई विश्वास छ नानु यो पढाइले हामीलाई धेरै धेरै खुसीहरु दिनेछ । विछोडको पीडाको अनुभुूति मलाई नभएको त होइन तर विछोड हुँदाको वास्तविक अनुभव आज म गरिरहेकोछु । आफ्नो सपना र लक्ष्यको खातिर आज म तिमीबाट नचाहँदा नचाहँदै पनि टाढा भइरहेको छु । सपु, हेरन मेरो कहिल्यै पनि चाहना थिएन कि म तिमी बाट टाढा हौं तर चाहना त सबै कहाँ पुरा हुँदो रहेछन् त……! म सदैव तिम्रै सेरोफेरोमा रहन चाहन्थेँ । सपु मैले सदैव तिमीलाई आफ्नो बनाउन चाहेँ तर मैले कहिल्यै एकपल पनि ख्याल गरिन कि तिमी के चाहन्छौं ? तिम्रो म मा हराउने चाहना थियो कि थिएन ? मेरो खुसीमा मैले जवरजस्ती तिमीलाई सामेल गराउन चाहेँ कि ? तिम्रो असहमतिमा पनि मैले सदैव सिकायत मात्र गरेँ । मैले केवल तिम्रो माया पाउने आशामा तिमीलाई नानाथरीका कुराहरु गरेर तिमीलाई दिक्क लगाउने काम गरेँ । तर सपु अब तिमीलाई म कुनै पनि प्रकारको सिकायत गर्दिन किन भने मेरो हैसियत भन्दा बढी र मैले पाउनै नसक्ने कुरामा म तिमीलाई दिकदार दिँदिन । माया पाउन त कसैको मनमा वस्न सक्नु पर्छ भन्छन् ।
हो, यीे यतिका वर्षको समयावधिमा म तिम्रो मनमा बस्न सकँे वा सकिन त्यो त तिमीलाई नै थाहाछ । मेरो जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको तिमीले मलाई गरेकोे विश्वास हो । तिमी जुन विश्वासले म मा समर्पित भयौं त्यति विश्वास कमै मात्र प्रेमीले आफ्नो प्रेमीका बाट पाएका हुन्छन् । तर मैले कहिल्यै तिम्रो भावनाको सम्मान गरिन, मात्र सिकायत सिवाय । एउटा यस्तो पनि दिन थियो तिमी मेरो नजिक आउँथ्यौं । म संग लुटुपुटु हुन्थ्यौं । मेरो मानसपटलमा ती दिनहरु केवल सुखद अनुभूति बनेर बसेको छ । सायद मलाई तिम्रो वियोगमा बस्न एकदमै गाह्रोपर्छ होला । नानु तिमी म बाट कहिल्यै पर हुन नखोज ल । तिमी म बाट पर पर हुन खोज्यौ भने मलाई एकदमै नरमाइलो लाग्छ । तिमी मबाट टाढा हुन खोज्यौं भने मलाई अफसोच लाग्छ तिमीले मेरो परीक्षा त लिइरहेकी थिइनौं जस्तो लाग्छ ? म आफ्नै ठानेर तिमीलाई अंगाल्न खोज्थेँ तर केही समय सम्म तिमी यति धेरै परिवर्तन भयौं कि मलाई ती विगतका दिनहरु सबै सपना जस्तो लाग्न थालेको थियो । के गर्नु सपु मैले यदि गलत सोचेको वा गलत गरेको रहेछु भने तिमीलाई सदैव हृदयमा राखेर माया गर्ने यो तिम्रो गरिनसक्नुको मान्छेलाई माफ गरिदेऊ ल । अर्को कुरा तिमी समक्ष मैले वारम्वार सिकायत गर्नुको कारण मैले तिमीलाई कहिल्यै प्रेमीकाको रुपमा देखिन मात्र म तिमीलाई आफ्नो जीवनसाथीको रुपमा देख्न चाहन्थेँ र तिमीबाट केवल त्यस्तै माया, विश्वास र व्यवहारको अपेक्षा गरेँ जसको कारणले पनि मैले तिमी समक्ष सिकायतका श्रृखलाहरु एक पछि अर्को गरेर थोपर्दै गएँ । तर नानु अब तिम्रो यो जीवन साथी बन्न चाहने मान्छेले कहिल्यै पहिले गरेजस्तो सिकायत अबका दिनमा गर्ने छैन र तिमीलाई विभिन्न कुराहरु गरेर तिम्रो मन मस्तिष्कमा चोट पर्ने खालका कुराहरु म गर्ने छुइन । नानु तिमीलाई मेरो यस्तो बानीले दिक्क लागेको होला हैंन ? कताकता मनमा म प्रति नै वितृष्णा समेत पैदा भएका होलान् कहिले काहीँ तर अव मलाई विश्वास गर नानु म तिमीलाई हमेशा कोशिष गर्ने छु कि तिम्रो चित्त नदुखाउने…….। तर मैले तिमीलाई जे जे भने, जे जे गरेँ ती सम्पूर्ण कुराहरु केवल तिम्रो माया पाउनको लागि थिए । तर माया जस्तो कुरा कहाँ जवरजस्ती प्राप्त हुन्छ त, यो त स्वतः स्फूर्त मनमा कसैप्रति उत्पत्ति हुन्छ जसको वहाव एकहोरो हुन्छ ।
मैले तिमीसंग विताएका क्षणहरुले म जति तिमीसंग नजिक भएँ त्यसले यदि तिम्रो मनमा सानो ठाउँ पाएको छ भने अवश्य पनि मेरो अनुपस्थितिमा तिमीलाई मेरो अभाव महसुस हुनेछ । नानु मलाई हप्ताको एकपल्ट चाँही अवश्य फोन गर हैं । म हमेशा तिम्रो आवाज सुन्न आतुर भइरहनेछु । नानु मलाई तिमीले पस्किदिएको खाना तिम्रो छेउमा बसेर खान ज्यादै रमाइलो लाग्थ्यो । त्यसैले मैले तिम्रो सामु खाना नपस्किदिएको निहुमा धेरै सिकायत गर्न पुगेँ । अब त तिमीले पस्किदिएको खानलाई मैले लामै समय प्रतीक्षा गर्नुपर्छ हैं नानु ! अहिले मेरो लागि तिमी सँग मैले पच्छिल्लो पल्ट मंसिर ८ गते विताएको क्षण नै धेरै महत्वपूर्ण रहेको छ किनभने अब सायदै धेरै कम सम्भावना छ कि तिम्रो नजिकमा रहेर मैले लामो समय विताउने, त्यसकारण त्यस क्षणलाई मैले आँखाभरी सजाएकोछु ।
नानु एक क्षण प्रसंग बदलौं हैं । नानु एउटा कुरा भनूँ त्यो प्रकाशको विहेको कुरा सुनेको दिन म यति खुसी भएँ कि मलाई रातभर खुसीले निन्द्रा नै लागेन । मैले त्यो प्रकाश आएको बेला तिमीसँग रिसाएकोे थिएँ नि मलाई साह्रै पछुतो भएको थियो त्यो दिन । त्यो दिन तिमी उसँग बोलेको इष्र्या लागेर मलाई साँच्चै तिमीसंग रिस उठेको थियो । मलाई थाहानै भएन म कसरी त्यस्तो इष्र्यालु भएँ । त्यसपछि त मैले त्यो मान्छेलाई परबाट देखेँ भने पनि म अर्कै बाटो हिड्न थालेको थिएँ । मेरो त्यो हर्कतको लागि माफ गरिदेऊ ल नानु ।
सपु तिमीले आजका दिनसम्म जसरी मलाई माया, साथ, हौंसला दियौं त्यो मेरो लागि जीवनमा तिमीले गरेको सबै भन्दा ठूलो उपकार हो । अबका दिनमा पनि म सदैव तिमी बाट पहिले जस्तै माया, साथ र प्रेरणा चाहिरहने छु । तिमीलाई म के विश्वास दिलाउन चाहन्छु भने मास्टर डिग्रीमा म प्रथम श्रेणीमा उत्तीर्ण हुनेछु । तर त्यसको लागि मलाई तिम्रो मायाको खाँचो छ । माया दिएमा मात्र पास गर्छु भनेर तिमीलाई ब्ल्याकमेल गरेको भने अवश्य होइन । म तिमीलाई माया गर्छु त्यहाँ भन्दा बढी कुरा मलाई केही पनि थाहा छैन । मलाई धेरै कुरा थाहा भइसक्यो जुन कुरा मेरो तिमीलाई मन पर्दैन । म यहाँबाट फर्कदा अवश्य पनि आफ्ना नराम्रो कुराहरुमा सुधार गरेर फर्कने छु । म केही कसैबाट प्राप्त हुन्छ कि भनेर अब आशामा होइन आफ्नो क्षमतामा विश्वास गर्ने भएको छु । मेरो यो विश्वासले अवश्य पनि मलाई सक्षम बनाउँछ । म एक कुशल र तिम्रो पति हुन सुहाउने बन्ने छु अनि मात्र तिम्रो बुबा आमा समक्ष तिम्रो हात माग्न आउनेछु । नानु मान्छे पढेर मात्र जान्ने र ठूलो हुँदैन यदि उसले पढेको कुरालाई आफ्नो व्यवहारमा उतारेर आफूमा परिवर्तन गर्दैन भने, त्यसकारण नानु मलाई सदैव तिमीले सचेत गराई राख कि मेरो पढाइले मलाई घमण्डी नबनाओस् । यदि म त्यस्तो हुन खोजेँ भने तिमीले मलाई खबरदारी गर्नु कि म मा राम्रो आचरणको विकास होस् । मेरो पढाइ कहिल्यै पनि तिमी माथि चट्याङ्ग बनेर बज्रिने छैन । नानु मलाई विश्वास छ, मेरो मन भित्र पलाएका मायाको यीे टुसाहरुलाई तिमीले मर्न दिने छैनौ । म हरेक पल मात्र तिम्रो हुन चाहन्छु र तिमीलाई आफ्नो बनाउन चाहन्छु । मेरो सपनामा केवल तिमी सपना बनेर भित्रिनु पर्छ नानु नत्र म ………। नानु म आफैमा कमजोर छैन तर तिम्रो मायाको सामु म कमजोर बन्छु अब रिमोट तिम्रै हातमा छ मलाई कमजोर पार्ने कि बलबान बनाउने…….। यी कुराहरु लेखिरहँदा मैले तिमीलाई विश्वास गरेन भन्छौं होला तर त्यसमा सत्यता भने रत्तिभर छैन किन भने म फेरिपनि भन्छु कि म तिम्रो माया विना शुन्य नितान्त एक्लो हुन्छु ।
अन्त्यमा सपु, व्यवसायमा राम्रो मन दिएर काम गर्नु । रिसाएर सरलाई धेरै नसताउनु, नत्र सम्पूर्ण काम विग्रन सक्छ । हाम्रो घरमा आमा बुबासँग पनि राम्रो व्यवहार गर्नु । वेलावेलामा मेरो खबर पनि सुनाइदिदै गर्नु हैं । म सदैंब तिमीलाई आफ्नो हृदयमा राखेर, आँखामा सजाएर माया गरिरहनेछु । यो आँखाले पत्नीको रुपमा तिमीलाई मात्र देखेको छ र मनले मात्र तिमीलाई स्वीकार गरेको छ । तिमीलाई अंगालेका यी हातहरुले अब कहिल्यै सपनामा पनि अरु कसैलाई अंगाल्ने छैनन् मात्र तिमी बाहेक । ल त सपु यो पत्र पढीसकेर कि मलाई नै फिर्ता पठाइदेऊ वा त च्यती देऊ ल….. भन्ने आग्रह गर्दै अब यी अस्थिर अक्षरहरुको प्रतिबिम्ब संगै म तिमीबाट ओझेलमा पर्ने अनुमति चाहन्छु ।
सपु विदाइको हात हल्लाउँदै मेरो तर्फबाट मात्र तिमीलाई असिम मायाहरु भन्दै विदा चाहन्छु ल……………………….!
उही तिम्रो
रिदम क्षेत्री
मिति : २०६३/०८/२७
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

रिदम क्षेत्री

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।