प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बहिष्कार गर्नुपर्ने भन्दै पम्प्लेट र पर्चा प्रदर्शन गर्ने ‘नेकपा बहुमत’ पार्टीका चितवन जिल्ला सेक्रेटरीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बहुमतका जिल्ला सेक्रेटरी २९ वर्षीय सुमन श्रेष्ठ र कालिका नगरपालिका–४, पदमपुर निवासी २१ वर्षीय किरण गौतम रहेका छन्। गौतम सोही पार्टीको विद्यार्थी सङ्गठन चितवनका संयोजक हुन्।
चितवनका विभिन्न मतदान केन्द्र आसपासमा मतदाताहरूलाई प्रभावित पार्ने र निर्वाचन विरोधी गतिविधि गर्ने क्रममा उनीहरूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, उनीहरूले निर्वाचन बहिष्कारको नारा लेखिएका पम्प्लेटहरू प्रदर्शन गरिरहेका थिए। पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
सुरक्षा अवस्था: चितवनमा रहेका १६२ मतदान स्थलमध्ये २५ वटालाई ‘अति संवेदनशील’ सूचीमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ जस्ता शीर्ष नेताहरूको गृहजिल्ला समेत रहेकाले चितवनमा सुरक्षा निगरानी बढाउन सादा पोसाकका प्रहरी र सेनाको टोली परिचालन गरिएको छ।

