
श्रमिकहरुलाई औद्योगिक क्रान्ति सुरु भएसंगै दैनिक १२ घण्टादेखि १८ घण्टासम्म बिना पारिश्रमिक वा एकदमै न्यून मूल्यमा श्रम गर्न बाध्य बनाइन्थ्यो । निश्चित वर्ग वा घरानाद्वारा श्रमको उचित मुल्याङ्कनबिना नै निर्वाह समेत कठिन हुने गरी पारिश्रमिकको व्यवस्था गरी श्रमिकहरुमाथि व्यापक दमन र अत्याचार गरिन्थ्यो ।
श्रमिकहरु माथि हुने यस्तो प्रकारको चरम शोषण र अत्याचार विरुद्ध “मेसिन होईन मान्छे जस्तो व्यवहार गरियोस “, “ आठ घण्टा काम, आठ घण्टा आराम, आठ घण्टा मनोरञ्जन “ भन्ने नारा सहित शोषकहरु विरुद्ध कडा प्रतिवाद गर्न सन् १८८६ मे १ तारिखको दिन अमेरिकाको सिकागो शहरको हे मार्केटमा हजारौ श्रमिकहरु भेला भई चरणबद्ध आन्दोलनको सुरुवात भयो । श्रमिकहारुद्वारा आह्वान भएको आन्दोलनलाई प्रशासनले व्यापक र निर्ममरुपमा दमन गरिएकोले श्रमिकहरुले आफ्नो ज्यान समेत गुमाउनु पर्यो ।
यहि बलिदानको सम्झनामा सन् १८८९ फ्रान्सको पेरिसमा श्रमिक नेतृत्वहरुको भेलाद्वारा हरेक वर्ष मे १ तारिखको दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने औपचारिकरुपमा निर्णय गरि सन् १८९० मे १ देखि प्रत्येक वर्ष अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन प्रारम्भ भई आज सन् २०२६ मे १ मा १३७ औ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाई रहेका छौ ।
नेपालको सन्दर्भमा भन्ने हो भने वि.स. २००३ सालमा बिराटनगर जुट मिलमा मजदुरहरुद्वारा गरिएको आन्दोलन मजदुरहरुको हक हितको पक्षमा पहिलो आन्दोलनको शुरुवात भई क्रमश जनकपुर चुरोट कारखाना, हेटौडा कपडा उद्योग लगायतका उद्योग प्रतिष्ठानहरुमा पनि मजदुर आन्दोलनको प्रारम्भ भई नेपालको व्यवस्था परिवर्तनदेखि नेपालको राजनीतिमा समेत प्रत्यक्ष प्रभाव रहन गयो ।
नेपालमा श्रमिकहरुको हक हितको प्रवर्ध्दन तथा सामाजिक सुरक्षाको प्रत्याभुत गर्न न्युनतम तलब तथा सामाजिक सुरक्षा कोषमा आवद्धताको अनिवार्य व्यवस्था लगायतका मजदुर मैत्री नीति तथा कार्यक्रमको समेत थालनी हुन थाल्यो । नेपालको मूल कानुन नेपालको संविधानमा समेत श्रमलाई मौलिक हक अन्तर्गत समावेश गरी श्रममा हुने लैङ्गिक भेदभावलाई अन्त्य गर्दै समान कामका लागि समान पारिश्रमिकको व्यवस्था समेत लिपिबद्ध गरी लागु समेत गरियो ।
नेपालको ऐन, नियम तथा कानुन र नीति, नियमहरु मजदुर मैत्री भएपनि व्यवहारमा भने सबै क्षेत्रमा लागु भएको पाईदैन, सामाजिक सुरक्षाकोषमा आवद्धता लगायतको कार्यक्रममा अझै पनि सबै सेवा क्षेत्र समावेश भएको छैन ।
विशेष गरी दक्षता नभएका मजदुर तथा गरिब जनताको उत्थानमा सहकारी क्षेत्रको विशेष भूमिका रहेपनि सहाकारीहरुद्वारा मजदुर वर्गको आर्थिक उत्थानमा प्रवाह गरेको ऋणको सदुपयोग वा दुरुपयोग के भईरहको छ ? लगायतका विषयमा सुक्ष्म अनुसन्धान र प्रतिक्रिया नलिने परिपाटी रहेकोले मजदुर वर्ग ऋण माथि ऋणको दुष्चक्रमा फस्दै जीवनयापन गर्न बाध्य छन ।
अन्तत, श्रमजीवी मजदुरको हक हित तथा सामाजिक सुरक्षाको शतप्रतिशत प्रत्याभुत गर्न सरकारले लागु गरेका नीति तथा कार्यक्रमहरुको प्रभावकारीरुपमा अक्षरंश पालना गरी नेपालको संविधानले परिकल्पना गरेको आर्थिक समानता, सामाजिक न्याय र समाजवाद उन्मुख, समतामुलक समाजको निर्माण गर्न रोजगारदाता लगायत सबै क्षेत्र तथा पक्षहरुले दायित्वबोध गरी समग्र श्रमजीवी मजदुरको आवाज सुनिने तथा अन्याय सदाका लागि समाप्त भएको मजदुर मैत्री राष्ट्र निर्माणमा टेवा पुर्याइ समग्र मुलुकलाई नै आर्थिक समृद्धिको उचाईमा स्थापित गर्नु नै आजको आवश्यकता हो ।
सम्पूर्ण श्रमजिवी मजदुरहरुलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना ।

