इटहरी ,फागुन २२ । हाम्रो इटहरी भेट्रान क्लबले आयोजना गरेको १ नम्बर प्रदेश स्तरीय भेट्रान फूटबल प्रतियोगिता -२०७७ को उपाधि विराट भेट्रान क्लब,मोरङले चुमेको छ ।
शनिवार इटहरी – ५ जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको फाइनल खेलमा विराट चौक भेट्रानले आयोजक इटहरी भेट्रान क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसँगै विराट भेट्रानले नगद ५५ हजार, मेडल, ट्रफी र प्रमाण पत्र पाएको छ । उपविजेता बनेको आयोजकले नगद ३१ हजार मेडल, ट्रफी र प्रमाण पत्रमा चित्त बुझाएको छ ।
विजेता टिमको तर्फबाट श्याम तामाङ र रमेश गुरुङले एक एक गोल गरे भने अर्को एक गोल आत्मघाती गोल उपहार पाएको थियो । पराजित आयोजकका तर्फबाट लिलाराम थापा मगरले १ गोल गरे।
प्रतियोगिताको उत्कृष्ट खेलाडी बिराटचौक भेट्रानका प्रवेश कटुवाल घोषित भए । उनले नगद ५ हजार १ सय र ट्रफी पाए । प्रतियोगिताको म्यान अफ द फाइनल बिराटचौक भेट्रानका श्याम कुमार तामाङ र रमेश गुरुङ उत्कृष्ट फरवार्ड घोषित भए ।
वेस्ट गोलकिपर आयोजकका रूपक गुरुङ, डिफेन्स सन्तोष बस्नेत, मिडफिल्डर निर्मल तामाङ र हाइस्कोरर लिलाराम मगर घोषित भए । उनीहरू सबैले जनही २ हजार १ सय रुपैयाँ पुरस्कार पाए ।
विजेता तथा उपविजेता टिमलाई इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीम पौडेल, एन्फा केन्द्रीय सदस्य दीपक राई, सुनसरी अध्यक्ष केशव कार्की लगायतले पुरस्कार वितरण गरे ।
फागुन १३ गते देखि सुरु भएको प्रतियोगितामा झापा, मोरङ, सुनसरी, उदयपुर र धनकुटाका गरी १२ वटा टिमको सहभागिता रहेको थियो ।