चार महिनादेखि जारी निलम्बनका कारण नेपालले आधा दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाइसकेको छ भने नयाँ खेलाडी उत्पादन र पलायनको समस्या गम्भीर बन्दै गएको छ।
📌 मुख्य बुँदाहरू:
- विश्व फूटबल महासंघ (फिफा) को निलम्बनका कारण नेपाली फुटबल चार महिनादेखि ठप्प हुँदै 'कोमा' को स्थितिमा पुगेको छ।
- निलम्बनकै कारण नेपाल ३३ वर्षको इतिहासमा पहिलो पटक आगामी नोभेम्बर ४ देखि १७ सम्म बंगलादेशमा हुने १५औँ साफ च्याम्पियनसिप खेल्नबाट वञ्चित भएको छ।
- न त सरकार, न एन्फाका जिम्मेवार अधिकारीहरू विवाद समाधानमा गम्भीर देखिएका छन् भने आधा दर्जनभन्दा बढी महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमीसकेका छन्।
विश्व फूटबल महासंघ (फिफा) को निलम्बनमा परेको चार महिना बित्न लाग्दा ७५ वर्षभन्दा लामो इतिहास बोकेको नेपाली फूटबल यतिबेला गम्भीर संकट र 'कोमा' को स्थितिमा पुगेको छ। ७५ वर्षभन्दा लामो इतिहास बोकेको देशको सर्वाधिक लोकप्रिय खेल अझै कति लामो समय यो शून्यको स्थितिमा रहने भन्नेबारे स्पष्ट जवाफ कसैसँग छैन।
नेपाली फूटबल इतिहासकै सबैभन्दा निराशाजनक मोडमा पुग्दासमेत न त सरकार गम्भीर देखिएको छ, न त अखिल नेपाल फुटबल संघ (एन्फा) का जिम्मेवार अधिकारीहरू नै यो विवाद समाधानका लागि अग्रसर भएका छन्। फिफा निलम्बनपछि सबैभन्दा ठूलो मारमा परेका खेलाडी, रेफ्री, प्रशिक्षक तथा समर्थकहरूबाट समेत यति गम्भीर विषयमा सक्रियतापूर्वक आवाज उठ्न सकेको छैन।
साफ च्याम्पियनसिप गुमाउँदाको पीडा
निलम्बनको यो सास्तीपूर्ण अवधिमा नेपालले आधा दर्जनभन्दा बढी महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरू गुमाइसकेको छ। यसैबीच, नेपाल ३३ वर्ष लामो इतिहास बोकेको दक्षिण एसियाकै सबैभन्दा ठूलो प्रतियोगिता ‘साफ च्याम्पियनसिप’ खेल्ने अवसरबाट समेत वञ्चित हुनुपरेको छ। आगामी नोभेम्बर ४ देखि १७ तारिखसम्म बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपको १५औँ संस्करणमा नेपालको अनुपस्थिति हुने निश्चित भएको छ।
पलायनको जोखिम र भविष्यको अनिश्चितता
प्रतियोगिताहरू अनिश्चित बन्दा प्रतिभावान खेलाडीहरू पलायनको बाटोमा लागेका छन् भने नयाँ खेलाडी उत्पादनको प्रक्रिया पूर्ण रूपमा ठप्प भएको छ। सरोकारवालाहरूले समयमै ठोस पहल नगर ेपछि नेपाली फुटबलको भविष्य थप अन्धकारतर्फ धकेलिने खतरा बढेको छ।
