१ असोज बाहुण्डाँगी: झापाको मेचीनगर वडानम्बर —४ ले संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडानम्बर —४ सँगभगिनी सम्बन्ध कायम गर्नेदेखि सीमावर्तीलाई ‘हात्ती आयो’ एप्स मोबाइल हुनेले एप्समार्फत र नहुनेले साइरनमार्फत हात्ती गाउँ पसेको सूचना तत्काल पाउँनेलगायत थुप्रै उपलब्धिमूलक काम गरेको जनाएको छ ।
शनिबार वडा कार्यालयमा पर्यटन व्यवसायी तथा वन्यजन्तु र चरा संरक्षणमा सक्रिय अभियन्ता र सञ्चारकर्मीहरुसँगको भेटघाटमा वडाध्यक्ष अर्जुनकुमार कार्कीले वि.संं. २०७९ जेठ १२ गते खोसेलाको पिरामा बसेर वडाध्यक्षमा पद बहाली गरेको र अहिलेसम्म पनि त्यसैले निरन्तरता पाईरहेको स्पष्ट पार्नुभयो ।
‘कुर्सी हटाएर पिरामा बस्ने अनौठो वडाध्यक्ष’ भनेर उस्बेला मेरो निक्कै चर्चा भयो’ वडाध्यक्ष कार्कीले भन्नुभयो —‘कतिपयले ‘सस्तो लोकप्रियताका लागि नटिक्ने ढर्रा’ भन्दै सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी पनि गरे म त्यसको पछि लाग्दिन मेरो कामलाई निरन्तरता दिईनै रहन्छु । ’
उहाँले आफ्नो वडामा सामाजिक, शिक्षा, स्वास्थ्य, वातावरण, खेलकुद, कृषिलगायतका क्षेत्रमा वडावासीको अपेक्षा अनुसार काम गरिरहेको स्पष्ट समेत पार्नुभयो । मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरेर बाहुनडाँगीलाई कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यमा नमुना गाउँ बनाउने सपना साँच्नुभएका वडाध्यक्ष कार्की विगत दुई दशकदेखि ग्रामीण पर्यटन र वातावरण संरक्षण क्षेत्रका अभियन्ता समेत हुनुहुन्छ ।
वडाध्यक्ष भएपछिको तीन महिनाभित्रै वडामा कोलकातास्थित नेपाली महावाणिज्य दूत ईश्वरीराज पौडेल, पूर्वोत्तर भारतका चर्चित पर्यटन अभियन्ता राज बसु लगायतका पाहुना भ्रमणमा आएको र महावाणिज्य दूत पौडेललाई वडाध्यक्षले गुन्द्रीमै बसाएर शिष्टाचार भेटघाट र पर्यटन प्रवद्र्धन सम्बन्धी छलफल गरेको समेत बताउनुभयो । खाँदबारी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष बिनोद सुब्बा भगिनी सम्बन्ध स्थापनाका लागि आउँदा पनि दुबै वडाबीचको भगिनी सम्बन्धको दस्ताबेज आदानप्रदान समेत गुन्द्री र पिरामै बसेर गरिएको वडाध्यक्ष कार्कीको भनाई छ ।
मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्की र खाँदबारी नगरपालिका–४ का वडाध्यक्ष विनोद सुब्बाबीच भगिनी सम्बन्ध कायम भएको दस्ताबेज आदानप्रदान भएको थियो । ज्येष्ठ नागरिकहरुलाई निःशुल्क लौंरो वितरणका लागि भगिनी सम्बन्ध स्थापना गरिएको खाँदबारीको वडा नं. ४ र तेह्रथुमबाट उहाँले घुँघुरोका ४०० वटा लौरो मगाएको बताउनुभयो ।
भारतको पश्चिम बंगाल राज्यको सिलिगुडी नगरपालिका नगर प्रमुख गौतम देव र वडाध्यक्षलगायतका सामाजिक अभियन्ताहरुसँग भेटघाट गरेर सिलिगुडी र मेचीनगर नगरपालिकालाई भगिनी सम्बन्धकालागि मेचीनगर नगरप्रमुख र उपप्रमुखलाई सिलिगुडीको निम्तो दिईसकेको भेटमा बताइएको छ । सीमावर्ती देहात बाहुनडाँगीमा वर्षौंदेखि हात्ती आतंक छ । भौतिक या मानवीय क्षति भएपछि मात्रै ‘मेची तरेर हात्ती छिरेछ’ भन्ने स्थानीयले थाहा पाउँथे । अब अहिले साइरनको मद्दतबाट स्थानीयले हात्ती आएको खबर तत्काल पाउने प्रविधि जडान भएको वडाध्यक्ष कार्कीको भनाई छ ।
साइरनसँगै ‘हात्ती आयो’ भन्ने एप्समार्फत हात्ती आएको सूचना सर्वसाधारणको कानकानमा पुग्ने गरी मेचीनगर–४ को पहलमा साइरन जडान गरिएको वडा सदस्य पवन वराइलीले जानकारी दिनुभयो । बर्दिया राष्ट्रिय निकुन्जका पूर्व वार्डेन संरक्षणकर्मी रमेश थापाले वडा कार्यालयलाई निःशुल्क उपलब्ध गराएका साइरन रेखदेख र सञ्चालन जिम्मा सशस्त्र प्रहरी बलको बीओपी (बोर्डर आउट पोस्ट) लाई दिइएको छ । वडा सदस्य बराइलीसहित आठ स्थानीयलाई हात्ती संरक्षणबारे प्रशिक्षणका लागि बर्दिया पठाईएको थियो ।
मानव हात्ती सहअस्तित्वका लागि विद्यार्थी लक्षित चेतनामूलक कार्यक्रम गरेको र बर्दियाको उज्यालो नेपाल नामक संस्थाले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । कार्यक्रममा वडाभरिका निजी तथा सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत करिब १५० जना विद्यार्थी सहभागी थिए । उनीहरूलाई बर्दियाबाट आएको उज्यालो नेपालका चिरायु थापाले हात्ती आएको जानकारी स्थानीयले सूचना कसरी प्राप्त गर्नेलगायतका विषयमा जानकारी गराएका थिए । मञ्जु महतरा र सुशीला महतराले हात्तीको आनीबानी कस्तो हुन्छ ? हात्ती गाउँछिरे कसरी बच्न सकिन्छ ? लगायतका उपायका बारेमा सहभागी विद्यार्थीलाई जानकारी गराएका थिए । न्युटन कार्की एटमको संयोजकत्वमा मानव–हात्ती द्वन्दन्यूनिकरण गर्ने उद्घेश्यले ३१ सदस्य युवा दस्ता गठन समेत वडामा गरिएको छ ।
वडालाई हराभरा र सुन्दर बनाउन फूल फुल्ने प्रजातिका एक लाख बिरुवा आफ्नो कार्यकालभरिमा हुर्काउने उहाँको योजना छ । विभिन्न देश परिवर्तनकालागि शाहदात प्राप्त गरेका वीर शहीदहरुको सम्झनामा यहि योजना अन्तर्गत मेची नदी किनारमा विभिन्न प्रजातिका ८ सय विरुवा रोपण गरिएको उहाँको भनाई छ ।
खाडीमुलुक गएका परिवारका सदस्यलाई आय आर्जन सहि ढंगले सदुपयोग कसरी गर्ने भन्ने विषयमा अभिमुखीकरण, नेदरल्याण्डका गाई पालक कृषक बाहुनडाँगीको गाई पालनको अवलोकन गर्न मेचीनगरका ४ घनश्याम खनालको सम्पर्कबाट वडानम्बर —४ मा ल्याउन सफल भएको पनि बताईएको छ । मेचीनगर वडा नम्बर— ४ मा साँगितीक तथा साँस्कृतिक विकास उत्थान र प्रवद्र्घन गर्ने उद्घेश्यले हेमकुमार प्रधानको अध्यक्षमा २१ सदस्य साँस्कृतिक समिति गठन गरिएको छ ।
कविराजको परामर्श अनुसार आयुर्वेदिक औषधी निःशुल्क वितरणदेखि वडा नम्बर ४ को स्वास्थ्य केन्द्रबाट साप्ताहिकरुपमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । विद्यालय हाताभित्र जंकफुड प्रयोग नियन्त्रणमा सक्रिय रहेको छ । मेचीनगरका १५ वटा वडामध्ये वडानम्बर ४ ले अनुशरण योग्य काम गरेको दावी उहाँको छ । वडाभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, गुणस्तरीय स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा भत्ता स्थानीय श्रोत साधन तथा मौलिकताको संरक्षण गर्ने कार्यमा नेतृत्वदायी भूमिका प्रदान गर्न वडानम्बर ४ सफल भएको बताइएको छ ।
सडक दुर्घटनाबाट हुने धनजनको क्षति कम गर्न सवारी दुर्घटना न्यूनिकरणकालागि मेचीनगर—४ को अति दुघर्टना क्षेत्रमा ‘सावधान जीवन वरादान’ भन्ने चेतनामुलक नारासहित स्थानीय निरज राई र बिक्रम चौधरीसँग समन्वय गरेर मेचीनगर—४ को गोलाई घरमा गोलाइ ऐनाको व्यवस्था गरिएको छ । यो अवधिमा वडानम्बर ४ ले यी लगायत थुप्रैक्षेत्रमा तीव्ररुपमा गति लिइएको छ । भावी दिनमा मुस्कान सेवा, एम्बुलेन्स सेवाका लागि योजना अघि बढिरहेको बताइएको छ ।
