१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

के यस पटक बाजी मार्लान् त विश्वप्रकाश ?

सेयर:

१४ कात्तिक, झापा : झापा-१ मा तेस्रोपटक चुनावी प्रतिष्पर्धामा होमिएका नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा काँग्रेसभित्र पुस्तान्तर र रुपान्तरणको वकालत गर्दै आएका युवा नेता हुन् । यो र अरु थुप्रै मुद्दा सशक्त रुपमा उठाएकै कारण उनी राजनीतिक वृत्तमा पृथक र मुखर छन् । उनको यो छविलाई झापा १ का मतदाताले यसपटक अनुमोदन गर्लान् कि नगर्लान् मंसिर ४ ले यसको छिनोफानो गर्नेछ । तर, यसपटक सबै दृष्टिले विश्वप्रकाश झापा १ का सुरक्षित देखिन्छन् । त्यसैले यसपटक विश्वप्रकाशले बाजी मार्ने कुरा काँग्रेसका कार्यकर्ताहरु बताउँछन् ।

संविधानसभाको दोस्रो र २०७४ को चुनावमा पनि उनी झापा १ मा पराजित भए । शर्माले २०७० मा एमालेका रविन कोइराला र २०७४ मा माओवादीका राम कार्कीसँग चुनावी हार ब्यहोरेका थिए । ती दुवै चुनावमा पराजय ब्यहोरेका कोही उम्मेदवार मतगणनास्थलमा थिएनन् । शर्मा भने आफूलाई हराउने दुबै जनालाई पहिलो माला लगाइदिएर बधाई दिने एक मात्र उम्मेदवार थिए। राजनीतिमा लोकतान्त्रिक संस्कारका कट्टर अनुयायी शर्मा यसपटक ‘पाहुना उम्मेद्वार’ अग्नि खरेलसँग प्रतिष्पर्धा गर्दैछन्।

पार्टी जीवनमा निरन्तर सफलता हात पार्दै अघि बढेका शर्माका लागि संसदीय फापेको छैन। ‘यसपटक सबै हिसाबले उहाँका लागि फापसिद्ध हुने देखिन्छ’, झापा १ का एक मतदाता भन्छन् ‘चुनावी पराजय सहेर पनि निरन्तर जनतामाझ सक्रिय रहनु, जनताको काममा जोडिनु र नेपाली राजनीतिमा जबरजस्त हस्तक्षेप गरेर पार्टी नेतृत्वमा स्थापित हुनुले पनि उहाँको प्लस प्वाइन्ट भएको छ ।’
स्कुल जीवनबाटै पञ्चायतविरोधी आन्दोलनमा होमिएका विश्वप्रकाश लार्ई उनको घरेलु वातावरण पनि सहयोगी थियो।उनका बुबा परशुराम शर्मा भण्डारी र आमा सावित्री शर्मा दुबै शिक्षक थिए। तर परशुराम शिक्षकभन्दा बढी राजनीतिक कार्यकर्ता थिए। पञ्चायतमै उनले जागिर छाडेर आन्दोलनमा होमिने निणर्य लिएका थिए।
भर्खरै हुर्किँदै गरेका छोराछोरी र परिवार चलाउने बाध्यताका अघि आमा सावित्रीले शिक्षण पेसालाई निरन्तरता दिइन्। तर उनले पञ्चायती प्रशासनबाट निकै सास्ती पाएको गाउँलेहरू बताउँछन्।

२०४० सालदेखि जेलयात्रा सुरू गरेका उनी ०४२ देखि ०४६ सम्म पटकपटक पक्राउ परे। ०४६ सालमा एसएलसी सिध्याएर मेची बहुमुखी क्याम्पस भद्रपुर पुगेपछि नेपाल विद्यार्थी संघको इकाइ सभापतिका रूपमा उनको राजनीतिक यात्रा अघि बढ्यो।

उनका सहपाठीहरूका अनुसार मेची क्याम्पसमा त्यस बेला नेविसंघ कमजोर अवस्थामा थियो। ‘त्यसबेला मेची क्याम्पसमा एउटा टाइसिट जस्तै थियो,’ शर्माका सिनियर पुष्प पौडेलले सम्झिए, ‘स्ववियु निर्वाचन हुन्थ्यो, नेविसंघ हार्थ्यो र नेविसंघ अखिलसँग झैंझगडामा उत्रिहाल्थ्यो। तर विश्वप्रकाश इकाइ सभापति भएपछि दृश्य फेरियो।’

उनका अनुसार त्यस बेला पनि चुनाव अखिलले जित्यो। तर चुनावकै दिन विश्वप्रकाशले नेविसंघको कार्यालयमा बोलाएर अबिर लगाएर विजेताहरूलाई शुभकामना दिए।

‘हामीलाई नेविसंघले आफ्नो कार्यालयमा बोलाएपछि शंका बढेर हामीले वरिपरि आफ्ना केटाहरू परिचालन गरेका थियौं,’ त्यस बेलाको घटना सम्झिँदै तत्कालीन अखिलका सदस्य रामचन्द्र तिवारीले भने, ‘तर विश्वप्रकाशले विजेता टोलीलाई अबिर लगाएर शुभकामना दिए। त्यस बेलादेखि क्याम्पसमा दुई संगठनबीच मारमुंग्री बन्द भएको हो।’

२०४८ मा नेविसंघको केन्द्रीय सदस्य बनेका उनी २०५७ मा संघको केन्द्रीय सभापति भए। २०५९ मा सभापतिबाट बिदा लिएपछि झापा-काठमाडौं गरिरहे। पार्टीमा लामो समय जिम्मेवारीविहीन थिए।

शर्माले १२औं महाधिवेशनमा पार्टीको झापा सभापतिमा उम्मेदवारी दिए। तर कृष्णप्रसाद सिटौलासहितका नेताहरू एकातिर, शर्मा एक्लै अर्कातिर भए। उनी पराजित भए।

पार्टीको १४औं महाधिवेशनमा पार्टी संस्थापन पक्षबाट महामन्त्रीको उम्मेदवार बन्ने अन्तिम क्षणमा त्यो समूहमा कृष्णप्रसाद सिटौलाको प्रवेश भयो। सिटौला र विश्वप्रकाशको सम्बन्ध त्यति राम्रो छैन। त्यसमाथि सिटौलाको जोडबलमा देउवा प्यानलबाट प्रदीप पौडेल महामन्त्री भए। विश्वप्रकाश पनि महामन्त्री उठ्ने निधो गरेका थिए जो देउवा प्यानलमा अटाएनन्। घरि शेखर कोइराला प्यानलबाट अनि घरि देउवा प्यानलबाट महामन्त्री बन्ने हल्ला चलिरहेका बेला उनको नाम दुबै समूहबाट छुट्यो।

उनले एक्लै उम्मेदवारी दर्ता गराए र अन्तिममा प्रकाशमान सिंह समूहमा पुगे। पार्टीको १३औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित बनेपछि उनलाई सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी दिएका थिए। ‘कांग्रेसलाई देखिने र सुनिने बनाउँछु,’ जिम्मेवारी सम्हाल्दै विश्वप्रकाशले भनेका थिए। आफ्नो जिम्मेवारी राम्ररी निर्वाह गरेको भन्दै कांग्रेस प्रतिनिधिहरूले उनलाई महामन्त्रीका रूपमा पुरस्कृत गरिदिए।

अहिले चुनावी चटारो उत्कर्षमा छ। देशभरीमा काँग्रेस कार्यकर्ताले विश्वास गरेर पार्टीको महामन्त्री बनाएका शर्मालाई झापा १ का मतदाताले संसदीय अवसर प्रदान गर्न उस्तै विश्वास देखाउलान् ? यसका लागि मंसिर ४ को परिणाम कुर्नुपर्नेछ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।