अर्जुनकुमार कार्की
नेपालको सांस्कृतिक धरोहरहरू मध्ये तीज पर्व विशेष स्थान राख्छ । विशेषगरी हरितालिका तीज, जसलाई नेपाली महिलाहरूले अत्यन्त श्रद्धा र भावनासहित मनाउँछन्, केवल मनोरञ्जनको माध्यम होइन, यो एक गहिरो सामाजिक, धार्मिक र भावनात्मक सन्देश बोकेको पर्व हो ।
हरितालिका तीजको कथा र महत्व
‘हरितालिका’ शब्द दुई भागमा विभाजित हुन्छ — ‘हरित’ अर्थात भगवती पार्वतीको सखीहरूले उनलाई हराइदिने घटना, र ‘आलिका’अर्थात अपहरण गर्नु वा साथ लगेर जानु ।
लोककथा अनुसार, देवी पार्वतीले भगवान शिवलाई पतिका रूपमा पाउन कठोर तपस्या गरेकी थिइन् । यस क्रममा सखीहरूले उनका पिताले अन्यत्र विवाह गर्न नदिउन् भनेर वनमा लगेर लुकाएका थिए । यही दिनलाई स्मरण गर्दै भाद्र शुक्ल तृतीयामा व्रत बस्ने परम्परा चलेको पौराणिक कथाबाट थाहा पाउन सकिन्छ ।
तीजको व्रत महिलाहरूका लागि आत्मसंयम, श्रद्धा, र परिवार प्रतिको समर्पणको प्रतिक हो । विवाहित महिलाले आफ्नो पतिको दीर्घायु , परिवारको सुखको लागि र अविवाहित युवतीहरूले योग्य वर पाउनको लागि विश्वास बोकेर यो व्रत बस्ने गर्दछन् । तीज पर्वको सामाजिक पक्ष अत्यन्त सुन्दर छ । तीज केवल धार्मिक परम्परा मात्र होइन, समाजमा महिलाको एकता, साझा पीडा र आशाका कथा सुनाउने खुला मञ्च पनि हो । गाउँघरदेखि सहरसम्म, दिदीबहिनीहरू भेटघाट गर्छन्, आफ्ना व्यथा पोख्छन्, अनि गीत संगीत मार्फत सन्देश आदान–प्रदान गर्छन् । तर विडम्बना, पछिल्ला वर्षहरूमा यो पावन पर्व विकृत प्रवृत्तिहरूको चपेटामा पर्न थालेको छ । किन बन्दैछन् विकृतिका पाठशाला हाम्रा पर्वहरू ? आफैंभित्र जिज्ञासाहरू सलबलाउँछन ्। जसलाई बुँदागत राख्न चाहन्छु ।
प्रविधिको अन्धाधुन्ध प्रयोग : इन्टरनेट, यूट्युव, टिकटक जस्ता माध्यमहरूले पर्वसँग असम्बन्धित, अश्लील र उत्तेजक सामग्रीलाई सजिलै फैलाइरहेका छन् । मनोरञ्जनको नाममा तयार भएका तीजका कतिपय गीतले संस्कार होइन, विकृति बेचिरहेका छन् ।
व्यावसायिक दोहन : बजारले पर्वलाई नाफा कमाउने माध्यम बनाएको छ । महँगो पहिरन, अनावश्यक सजावट र अश्लील म्युजिक भिडियोहरू उत्पादन गरेर सांस्कृतिक मूल्यलाई कमजोर पार्ने काम भइरहेको छ ।
शिक्षा र पारिवारिक मार्गदर्शनको कमि ः नयाँ पुस्ताले तीजको वास्तविक कथा, व्रतको अर्थ र धार्मिक महत्वबारे कम नै सुन्छन् । परिवार र विद्यालयहरूले यो शिक्षा दिने कामलाई गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ ।
सांस्कृतिक हिनता बोध : आफ्नै संस्कृतिमा गर्व नगर्ने, विदेशी शैलीलाई अन्धाधुन्ध अनुकरण गर्ने प्रवृत्तिले मौलिकता हराउँदै गएको छ ।
विकृतिको असरले हामी के गुमाउँदैछौं ? यसलाई पनि हामीले एकचोटि फर्केर हेर्नुपर्छ ।
संस्कारको ह्रास : धार्मिक र सामाजिक मूल्य कमजोर हुँदैछ ।
परिवारको विग्रह : पर्वले एकता होइन, विभाजन ल्याउन थालेको छ ।
महिला गरीमामा आघात : तीजमा देखिने अशोभनीय प्रस्तुति र व्यवहारले महिलाको सम्मान घटाउँछ ।
भविष्य पुस्ताको भ्रम : गलत उदाहरणका कारण बालबालिका र युवाहरूमा असल पक्ष छुट्याउने चेतना हराउँछ ।
समाधान र सुझावहरू यी हुनसक्छन् ।
सन्देशमूलक गीतको प्रवद्र्धन पीडा, वियोग र सामाजिक सुधारका कथा समेट्ने गीत रचना गर्ने तीनैल लोकभाकाहरूसँग रमाउने । मर्यादित पहिरन र व्यवहार आवश्यक देखिन्छ । परम्परागत सुन्दरता र आधुनिकताको सन्तुलन कायम गर्ने । युवा पुस्तामा चेतना छर्न सक्नु पर्छ । विद्यालय, टोलस्तर र सामाजिक मञ्च मार्फत तीजको इतिहास र महत्वको बारेमा सचेतना फैलाउने । स्थानीय उत्पादनको प्रयोग दुध, चिया, बाँसका परिकार, हस्तकला जस्ता आफ्नै वस्तु प्रयोग गरेर पर्वलाई आत्मनिर्भर बनाउन सक्नु पर्छ । व्रतको वास्तविक भावना जोगाउने आत्मसंयम, आध्यात्मिकता र प्रार्थनाको मूल उद्देश्यलाई केन्द्रमा राख्ने । तीज, उत्सव मात्र होइन, परिवर्तनको मञ्च पनि हो भन्ने बुझाई सबैमा विकास गर्नुपर्ने ।
हरितालिका तीज महिलाको पीडा र वियोगलाई गीतमा पोख्ने, अनि त्यसलाई उत्साह र आशामा परिणत गर्ने पर्व हो । जसका श्रीमान गुमेका छन्, जो एकल महिला छन्, जसले आर्थिक वा सामाजिक कठिनाइ भोगिरहेका छन् उनीहरूलाई समेत यो पर्वले सम्बोधन गर्नुपर्छ । परिवर्तनका ठूला नाराहरू भन्दा पनि, गाउँको भुइँमा च्यातिएको फरिया लगाएर बस्ने, हातमा ठेला र निधारमा पसिना बोकेर घाममा हिँड्ने दिदीबहिनीहरूको वास्तविकता बुझेर पर्वलाई अर्थपूर्ण बनाउनु नै हाम्रो सामाजिक जिम्मेवारी हो । पर्वमा उत्श्रृखलता होइन, आशा र सम्मानको वातावरण बन्नुपर्छ । किनभने कमिलादेखि हात्तीसम्मको संसारमा महिलाले नेतृत्व गरे झैं, मानव समाजमा पनि महिलाको नेतृत्व नै प्रगतिको मार्ग हो । यदि हामीले आजै चेतना, जागरूकता फैलाएनौं भने, तीज र हाम्रा अन्य पर्वहरू केवल बजारको मनोरञ्जन र विकृतिको केन्द्र बन्नेछन् । त्यसैले, हामी सबैले संकल्प गर्नुपर्छ । पर्वहरूलाई संस्कार, सम्मान र एकताको पाठशाला बनाऔं विकृतिको होईन । अन्त्यमा ,२०८२ को हरितालिका तीजको उपलक्ष्यमा सम्पूर्ण महिला दिदीबहिनीहरु तथा महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना।आफ्नै गाउँको दिदीबहिनी माइजु । भाउजुहरू सबैलाई नमन ।
कार्की मेचीनगर नगरपालिका वडा नम्बर —४ का वडाध्यक्ष र ग्रामीण पर्यटन अभियन्ता पनि हुन् ।
