१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

समानुपातिक सूचीमा पनि शक्तिशाली कै हालीमुहाली

सेयर:

४ असोज, काठमाडौँ : आयोगले तोकेको समावेशी सिद्धान्तको मापदण्डअनुसार प्रमुख दलले समानुपातिकतर्फको बन्दसूची पेस गरेका छन् । समानुपातिक सूचीमा पनि शक्तिशाली कै हालीमुहाली भएको छ । दलहरूको सूचीमा प्रधानमन्त्रीपत्नी, पूर्वसभामुख, पूर्वगृहमन्त्रीपत्नीदेखि पूर्वराजदूतसम्मका नेता पनि छन् ।

दलहरूले औपचारिक रूपमा सूची सार्वजनिक नगरे पनि राष्ट्रिय राजनीतिमा हैसियत बनाएका व्यक्तिलाई विभिन्न ‘कोटा’ बाट समानुपातिक सूचीमा समेटेका छन् । समानुपातिक निर्वाचन निर्देशिका २०७९ मा दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू र मुस्लिमको जनसंख्या प्रतिशतका आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम समावेश गर्नुपर्ने व्यवस्था छ । आयोगको कार्यतालिकाअनुसार दोस्रो दिन ठूला दलले प्रतिनिधिसभा र प्रदेशसभातर्फका लागि समानुपातिक उम्मेदवार बुझाएका हुन् ।

असोज १६ सम्म सूची परिमार्जनको समय रहेकाले यी नामावली अन्तिम भने होइनन् । प्रमुख दलहरूले प्रतिनिधिसभाका लागि १ सय १० र प्रदेशसभाका लागि बढीमा २ सय २० सहित ३ सय ३० जना समानुपातिक उम्मेदवारको सूची बुझाएको आयोगले जनाएको छ । दलहरूले बन्दसूची संशोधन हुन सक्ने जनाएका छन् ।

संसद्को ठूलो दल एमालेले केन्द्रीय पदाधिकारी र यसअघि समानुपातिक सांसद भइसकेका नेताबाहेक नयाँलाई प्राथमिकतामा राखेर बन्दसूची बुझाएको छ । निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा स्थायी कमिटी सदस्य रघुजी पन्त, गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य लीलबहादुर थापा, सुनीता बराल, उमा कोइरालालगायत छन् । पन्त दसबुँदे पक्षधर र थापा माओवादीबाट एमाले प्रवेश गरेका हुन् । बराल अनेरास्ववियुको अध्यक्ष हुन् ।

यसबाहेक उपाध्यक्ष रामबहादुर थापाकी पत्नी नैनकला थापालाई पनि एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । राजनीतिमा सक्रिय नरहेकी थापालाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि ०७८ जेठ २७ मा सञ्चारमन्त्री बनाएका थिए । तर, सर्वोच्च अदालतले असार ८ मा प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तार संविधानअनुकूल नभएको भन्दै बदर गरिदिएपछि थापासहितका मन्त्री पदमुक्त भएका थिए ।

एमालेले युवा महिला कोटाबाट मेनुका पछाईं, भक्तकुमारी लामा, क्रान्ति बुर्लाकोटीलगायतलाई पनि प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाएको छ । पछाईं र लामा पूर्वविद्यार्थी नेता हुन् । बुर्लाकोटी युवा संघको उपाध्यक्ष हुन् । एमालेले केन्द्रीय कार्यालयका पूर्वसचिव ईश्वरी रिजाल विश्वकर्मालाई पनि समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । उनी केन्द्रीय सदस्य हुन् । एमालेका केन्द्रीय सदस्य एवं निर्वाचन विभाग उपप्रमुख नीरज आचार्यले अधिकांश नयाँ अनुहार र त्यसमा पनि युवालाई अवसर दिइएको बताए । ‘एमालेको बन्दसूचीमा पदाधिकारी कोही छैनन्,’ आचार्यले भने, ‘सूचीमा यसअघि समानुपातिक सांसद नभएका नेता हुनुहुन्छ ।’

त्यसैगरी कांग्रेसले सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । ०७४ को निर्वाचनमा कैलाली–५ बाट चुनाव हारेकी आरजुले प्रत्यक्ष चुनावकै लागि तयारी गर्दै आएकी थिइन् । उनको नाम यसअघि लडेकै निर्वाचन क्षेत्र र अन्य ठाउँबाट समेत सिफारिस भएको थियो । प्रधानमन्त्री देउवाको शासकीय काममा हस्तक्षेप गरेर विवादास्पद निर्णय गराउने गरेको भन्दै पार्टीभित्र र बाहिरबाट आलोचना बढिरहेका बेला उनी प्रत्यक्ष चुनावमा जान हच्केकी छन् । राणा लड्ने तयारी गरेको कैलाली–५ बाटै कांग्रेस नेता पुष्कर ओझाले उम्मेदवारी दिने तयारी गरिरहेको र उनलाई मनाउन बालुवाटारले नसकेपछि आरजु पछि हटेकी हुन् । विमलेन्द्र निधि, प्रकाशरण महत, गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुरलगायत कांग्रेसका केन्द्रीय नेताहरू पनि समानुपातिक सूचीमा बसेका छन् । यी नेताहरू पूर्वमन्त्रीसमेत हुन् ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन शर्माले अपराह्न आयोगमा प्रारम्भिक सूची बुझाएका थिए । तर, पार्टीभित्रै भागबन्डाको विवाद नमिलेकाले कांग्रेसले वास्तविक सूची मध्यरातिसम्म पनि बुझाउन सकेको छैन । नेता शेखर कोइराला समूहले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ ४० प्रतिशतको हाराहारीमा आफ्नो पक्षलाई उम्मेदवार बनाउनुपर्ने अडान लिएपछि विवाद बढेको थियो । उम्मेदवार चयन र प्राथमिकतामा राख्ने विषयमा कांग्रेसभित्र मध्यरातिसम्म सहमति जुटेको थिएन । ‘संघमा समानुपातिकतर्फको १ सय १० र प्रदेशमा २ सय २० जना उम्मेदवार कांग्रेस संसदीय बोर्डको निर्णयअनुसार बुझाएका छौं,’ कांग्रेस महामन्त्री शर्माले भने ।

माओवादी केन्द्रले पटक–पटक लाभको पद लिएका पूर्वसभामुख एवं उपाध्यक्ष कृष्णबहादुर महरालाई पुन: अवसर दिएको छ । दाङ–२ बाट प्रत्यक्षतर्फ सिफारिस भएका महराको नाम सोमबार अन्तिम समयमा समानुपातिकमा राखिएको माओवादी स्रोतले जनाएको छ । महरा आफैंले भने प्रत्यक्षतर्फबाट धेरै ठाउँबाट माग भएकाले आफू राष्ट्रिय व्यक्तित्वका लागि समानुपातिकमा बसेको बताएका छन् । समानुपातिकबाट सांसद चुनिए संसद्मा उनको उपस्थिति छैटौं पटक हुनेछ । उनी अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र हुन् । महरा २०४८ मा रोल्पा–२ बाट सांसद निर्वाचित भएका थिए । सशस्त्र युद्धमा सामेल भएका उनी शान्ति प्रक्रियालगत्तै २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्मा प्रवेश गरेका थिए । ०६४ मा दाङ–३ बाट संविधानसभा सदस्य निर्वाचित भए भने ०७० मा रोल्पा–१ बाट संविधानसभा सदस्य बने । ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी दाङ–२ बाट निर्वाचित भएका थिए । संसद् सचिवालयकी महिला कर्मचारीसँगको सम्बन्ध विवादमा मुछिएर राजीनामा दिनुअघि उनी ०७४ फागुन २६ देखि ०७६ असोज १४ सम्म सभामुख थिए । माओवादीको बन्दसूचीमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ, जनजाति आन्दोलनका अगुवा परशुराम तामाङ र बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादीका पाँच नेता पनि परेका छन् । गंगानारायण श्रेष्ठ, राष्ट्रिय महिला आयोगकी पूर्वअध्यक्ष दुर्गा सोब र प्राध्यापक दुर्गा न्यौपाने भट्टराईको सूचीबाट अटाएका छन् । त्यस्तै माओवादीले पूर्वमन्त्री हकिकुल्ला खाँ, महिला नेतृ रेणु चन्द, दलित आयोगकी पूर्वअध्यक्ष सुशील श्रीपाइली, उद्योगी दिलसुन्दर श्रेष्ठ, साहित्यकार ईश्वरचन्द्र ज्ञवाली, कर्मचारी महासंघका अध्यक्ष मोहनमान स्वाँर, अजम्बर राई काङबाङ, रणेन्द्र बराइलीलगायतलाई समानुपातिक उम्मेदवार बनाएको स्रोतले जनाएको छ ।

माओवादी उपमहासचिव वर्षमान पुनले भूगोल, युवा र नयाँ अनुहारलाई सन्तुलित ढंगले समानुपातिक उम्मेदवार बनाएको बताए । ‘प्रदेशगत सन्तुलन, युवालाई प्राथमिकता, स्वच्छ छवि, यसअघि समानुपातिक, पहिलो, दोस्रो संविधानसभामा समानुपातिक सांसद नभएका, स्थानीय निर्वाचनमा उम्मेदवार नभएकालाई उम्मेदवार बनाएका छौं,’ उनले भने, ‘हामीले सन्तुलित ढंगले उम्मेदवार बनाएका छौं ।’

संसद्को चौथो ठूलो दल एकीकृत समाजवादीले पनि समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाएको छ । समाजवादीले उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधर, सचिव नागेन्द्रकुमार चौधरी, स्थायी कमिटी सदस्य सावित्राकुमारी भुसाल, रामचन्द्र यादव, श्रीप्रसाद साह, भविश्वर पराजुली, केन्द्रीय लेखा आयोगका अध्यक्ष भरतकुमार श्रेष्ठ र पोलिटब्युरो सदस्य दिलकुमारी पन्तलगायतलाई प्रतिनिधिसभातर्फको समानुपातिक उम्मेदवार बनाएको छ । हमाल पूर्वराजदूत हुन् । समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेका, यसअघि दुई पटक सांसद भएका नेताबाहेकलाई समानुपातिक उम्मेदवार बनाएको बताए । ‘सकेसम्म सांसद नभएका व्यक्तिलाई अवसर दिएका छौं,’ उनले भने, ‘सूचीमा परेका पदाधिकारीहरू एकपटक मात्र सांसद भएकाले अहिले अटाउनुभएको हो ।’

इकान्तिपुरबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।