१५ असार , मेचीनगर: आगामी आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा मेचीनगर नगरपालिकाभित्र वसोवास गर्ने आदिवासीहरु मध्ये मेचे जातिलाई प्रथम जाति घोषणा गरी सम्मान गर्ने उल्लेख भए लगत्तै अहिले नगरका विभिन्न आदिवासी जातिहरुले आफू प्रथम जाति भएको दावी पेश गर्न थालेका छन् ।
मेचे जातिलाई नगरको प्रथम जातिको रुपमा घोषणा गरि सम्मान गर्ने निर्णयप्रति अन्य जातिहरुले असहमती जनाएउदैं मेचीनगर नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाउन थालेका छन् ।
१० असारमा सार्वजनिक गरेको १ अर्ब ५३ करोड ६३ लाख २९ हजार ३ सय ५४ रुपैयाँको वार्षिक बजेटका क्रममा नगरपालिका प्रमुख विमल आचार्यले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रम अन्तर्गत को सामाजिक विकास सम्बन्धि नीतिमा नगरपालिकाभित्र वसोवास गर्ने आदिवासीहरु मध्ये मेचे जातिलाई प्रथम जाति घोषणा गरी सम्मान गर्ने उल्लेख छ ।

नीति तथा कार्यक्रममा उक्त कुरा सम्बोधन भएपछि नगरभित्र बसोवास गर्ने अन्य आदिवासीहरुले आफुहरु प्रथम जाति भएको दावी गदैं नगरपालिकालाई ध्यनाकर्षण पत्र बुझाउन थालेका छन् । १३ असारमा नगरपालिकाभित्र बसोवास गर्ने धिमाल समुदायले झापाको मेचीनगर नगरपालिकामा बसोबास गर्ने पहिलो जाति धिमाल नै भएको दाबी गरे ।
धिमाल जातिय विकास केन्द्र समितिकातर्फबाट नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाउँदै पुर्वी नेपालको झापा, मोरङ र सुनसरीमा जंगल फाँडेर बस्ती बसाउने पहिलो जाति नै धिमाल भएको स्पष्ट पारेको छ । त्यसको साता वित्न नपाउदैँं १५ असारमा मेचीनगरको प्रथम जाति राजबंशी भएको दाबी गदैं मेचीनगर नगरपालिकाले नगरभित्र बसोबास गर्ने मेचे जातीलाई नगरको प्रथम जातिको रुपमा घोषणा गरि सम्मान गर्ने निर्णयको राजवंशी समाज विकास समितिले असहमती जनाएको छ । उस्ले पनि नगरपालिकाको ध्यानाकर्षण गराएको छ । नगरप्रमुख विमल आचार्यलाई बुझाईएको ध्यानाकर्षण पत्रमा मेचीनगर नगरपालिकाको पहिलो जाति धिमाल नै हो भन्ने बलियो आधार प्रमाणहरु २०७७/१२/२२ मा नै पेश गरी दर्ता समेत गराइएको ब्यहोरा उल्लेख छ ।
उता मेचीनगर क्षेत्रका नकलबन्दा, काँकरभिट्टा, धुलाबारी, ज्यामिरगडी, दुहागढी साथै गाँउका नामहरु कायाँटुली, तेलीबारी, हेद्लुबारी, गजाबारी, मदनबारी, लगायत धेरै ठाउका नामहरु राजवंशी भाषामा नै रहेकाले राजबंशी नै मेचीनगरको पहिलो जाति भएको दावी राजवंशी समाजले पेश गरेको छ ।
पहिलो जाति धिमाल घोषणा अभियानका संयोजक पात्र धिमाल, धिमाल जातिय विकास केन्द्रका केन्द्रिय उपाध्यक्ष तथा झापा इन्चार्ज खड्ग धिमाल र जातिय केन्द्रका मेचीनगर अध्यक्ष चित्रकुमार धिमालले संयुक्त रुपमा हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा धिमाल जातिलाई वेवास्ता गरेर नगरपालिकाले प्रमाणहरुको आधार नहेरी सम्बन्धित पक्षसंग संवाद र छलफल नगरी एकलौटी रुपमा मेचे जातिलाई पहिलो जाति घोषणा गर्ने निर्णय धिमाल जातिलाई मान्य नहुने उल्लेख छ । पहिलो जातिका बिषयमा प्रमाण अध्ययनका लागि आयोग गठन गर्न समेत धिमाल समुदायले मेचीनगर नगरपालिकासंग माग गरेको छ ।
राजवंशी समुदायले वास्तविक प्रथम जाति हुने ऐतिहासिक अधारहरु के के हुन् ? भनेर यसको कार्यबिधि बनाउने लगायतका बिषयहरु सहित ठोस प्रमाणहरु जुटाउन नगरपालिकाले सम्बन्धित पक्षको सहभागितामा कार्यदल गठन गरी अध्ययन अनुसन्धान गरेर मात्रै प्रथम जाति घोषणा गर्ने नगरपालिकासंग माग गरेको छ । राजवंशी समाज विकास केन्द्रिय कार्यसमितिका अध्यक्ष पानीलाल राजवंशी, जिल्ला कार्य समितिका अध्यक्ष दिनेश्वर प्रसाद राजवंशी र मेचीनगर समितिका अध्यक्ष दिनेश राजवंशी द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा राजबंशी समुदायले ध्यानाकर्षण गराएको अवस्थामा समेत नगरपालिकाले वेवास्ता गरे राजवंशी समाज विकास समिति चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिईएको छ ।
