१५ चैत, मेचीनगर : नेपालमा बर्सेनि बढिरहेको पेट्रोलियम पदार्थको माग घट्न थालेको छ । पेट्रोलियम पदार्थको मुल्य नेपाल र भारतमा झण्डै बराबर जस्तै हुनु, तथा नेपालमा विकास निर्माणको काम कम हुँदा खपत घटेको अनुमान गरीएको छ ।
गत आर्थिक वर्ष ०७९/०८० को फागुनमसान्तसम्मको तुलनामा चालु आर्थिक वर्ष २०८०/०८१ को सोहि अवधिमा पेट्रोलियम पदार्थको खपत घटेको मेची भन्सार कार्यालय काँकरभिट्टाको अभिलेखले स्पष्ट पारेको छ । भन्सार अधिकारीका अनुसार पूर्वीनाका भएर भित्रिने पेट्रोल, डिजल, एलपी ग्यास तथा मट्टीतेलको आयात चालु आर्थिक वर्षको शुरुदेखि नै घट्दो क्रममा रहेको थियो ।
चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो आठमहिनामा यो नाका भएर १३ अर्ब ३३ करोड १६ लाख ३३ हजार रुपैयाँ मुल्य बराबरका पेट्रोलियम पदार्थ ‐पेट्रोल,डिजेल, एलपी ग्यास तथा मट्टीतेल)को आयात भएको कार्यालयको अभिलेखले देखाएको छ ।
प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार गत आर्थिक वर्ष २०७९/०८० को सोहि अवधिमा १४ अर्ब ६२ करोड ४३ हजार रुपैयाँ मुल्य बराबरको पेट्रोलियम पदार्थ (पेट्रोल,डिजल, एलपी ग्यास तथा मट्टीतेल)को आयात भएको थियो । गत आवको तुलनामा चालु आवमा काँकरभिट्टा नाका भएर १ अर्ब २८ करोड ८४ लाख १० हजार कम रुपैयाँ मुल्य बराबरको पेट्रोलियम पदार्थ ‐पेट्रोल,डिजेल, एलपी ग्यास तथा मट्टीतेल)को आयात भएको हो ।
भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० को फागुनसम्ममा काँकरभिट्टा नाका भएर ६ अर्ब १३ करोड ९२ लाख ४७ हजार रुपैयाँ मुल्य बराबरको ६१ हजार ३ सय ५६ किलोलिटर पेट्रोल आयात भएको छ । तर, चालु आर्थिक वर्ष गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३९ करोड ६ लाख १९ हजार रुपैयाँ कमको पेट्रोल आयात भएको छ । कार्यालयका अनुसार सो अवधिमा ६ अर्ब ९ करोड९६ लाख २८ हजार रुपैयाँ मुल्य बराबरको ६१ हजार २ सय ७२ किलोलिटर पेट्रोल आयात भएको छ ।
यसैगरी, चालु आर्थिक वर्षको पहिलो आठमहिनामा काँकरभिट्टा नाका भएर ४ अर्ब ८७ करोड ६९ लाख ९६ हजार रुपैयाँ मुल्य बराबरको ४५ हजार १ सय ४० किलोलिटर मात्र डिजल आयात भएको छ । जुुन परिमाण अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ८५ करोड ४८ लाख २१ हजार रुपैयाँको कम आयात हो । कार्यालयको अभिलेख अनुसार गत आर्थिक वर्षको फागुनसम्म यो नाका भएर ५ अर्ब ७३ करोड १८ लाख १७ हजार रुपैयाँ मुल्य ब।ाबरको ४५ हजार ४ सय ८ किलोलिटर डिजल आयात भएको थियो ।
गत आवको तुलनामा चालु आवमा हवाई इन्धनको आयात निराशाजनक छ । गत आवमा ८२ करोड ६१ लाख ५० हजार रुपैयाँ मुल्य बराबरको ६ हजार ८ सय २८ किलोलिटर हवाई इन्धन आयात भएकोमा चालु आवमा घटेर ५३ करोड ८६ लाख ६८ रुपैयाँमा सिमित हुन पुग्यो । चालु आवमा ४ हजार ९ सय १६ किलोलिटर हवाई इन्धान आयात भएको छ ।
गत आवको तुलनामा चालु आवमा हवाईन इन्धन २८ करोड ७४ लाख ८२ हजार रुपैयँँ वा १ हजार ९ सय १२ किलोलिटरले कम हो । यसैगरी, खाना पकाउने एलपी ग्यास अघिल्लो आवमा १ अर्ब ७५ करोड९५ लाख ६६ हजार रुपैयाँ मुल्य बराबरको १ करोड ५५ लाख ७५ हजार ६ सय ६० केजी आयात भएको कार्यालयले जनाएको छ । चालु आवमा भने १ अर्ब ६६ करोड५५ लाख ५४ हजार रुपैयाँ मुल्य बराबरको १ करोड ६१ लाख ९९ हजार ८ सय ४० केजी आयात भएको छ ।
चालु आवको आठ महिनामा १५ करोड ७९ लाख ६ हजार रुपैयाँ मुल्य बराबरको १ हजार ३ सय ९२ किलोलिटर मट्टितेल काँकरभिट्टा नाका भएर नेपाल भित्रिएको छ । गत आवमा १६ करोड ३२ लाख६३ हजार रुपैयाँ मुल्य बराबरको १ हजार ३ सय ४ किलोलिटर मट्टितेल आयात भएको थियो । यो नाकाबाट पेट्रोलियम पदार्थ आयात घट्ने वित्तिकै त्यसको प्रत्यक्ष असर राजस्वमा पर्ने बताइएको छ । कार्यालयको वार्षिक राजस्व असुली ‐संकलन)को प्रमुख वस्तु नै यसको आयात हो । यसको आयात कम हुँदा लक्ष्य अनुसार राजस्व असुली गर्न धौं धौं पर्ने भन्सार अधिकारको भनाई छ ।
अघिल्ला वर्षहरूमा वार्षिक १५ प्रतिशतको औसतदरले पेट्रोलियमको खपत बढ्ने गरेको थियो । यो चालु आवमा भने इन्धन खपतमा खासै सुधार नआएको भन्सार अधिकारीहरुको भनाई छ । एक जना भन्सार अधिकारीका अनुसार पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थको खपत घटनुको मुख्यः कारण, भारतमा भन्दा नेपालमा महँगो हुँदाको परिणाम पनि हो । भारतबाट आयात हुने भए पनि नेपालमा पेट्रोलियम पदार्थको मुल्य भारतमा भन्दा सस्तो हुने गरेको छ ।
‘अघिल्ला आवमा नेपालको तुलनामा भारतमा पेट्रोलियम पदार्थको मुल्य बढी थियो’ नाम नलेखिदिने शर्तमा ती उच्च अधिकारी भन्छन्—‘ नेपालमा सस्तो हँुदा दैनिक ५ देखि ७ सयसम्म भारतीय सवारी साधन नेपालमा तेल हाल्न आउथे, कतिले त ठुल्ठुला ड्रम र आफ्ना सवारी साधनमा अतिरीक्त तेलको ट्याँकी जडान गरी अबैधरुपमा भारततर्फ यस्ता बस्तु लैजान्थे । अहिले भारतमा सस्तो छ ती सवारी साधनले नेपालमा तेल हाल्नै छाडे त्यसको असर पनि पनि हो आयात घट्नु ।’ नेपालमा महंगो हुँदा यसले भारततर्फ हुने इन्धन तस्करी रोकिएको छ । पेट्रोलियम पदार्थको आयात परिमाण घट्नुमा भारतमा मूल्य सस्तो हुनु र नेपालमा विकास निमार्णमा काम कम हुनु प्रमुख कारण रहेको पनि बताइन्छ ।
पेट्रोलियम पदार्थको माग देशभरकै अनुपातमा झापामा ५० प्रतिशत र अन्य समयको तुलनामा जिल्लामा ३५ प्रतिशतले कमि आएको छ । यसको मुख्यः कारण मुल्यमा उतारचढावनै रहेको ठहर उहाँको छ । केहिदिनदेखि भारतको तुलनामा नेपालमा पेट्रोल प्रतिलिटर ८ रुपैयाँ महँगो छ । अहिले पेट्रोलियम पदार्थको मूल्य नेपालमा भन्दा भारतमा कम छ । ‘गत वर्ष नेपालमा भन्दा भारतमा मूल्य महँगो थियो । जसको कारण सीमापार क्षेत्रका भारतीय गाडीहरू नेपालमा आएर पेट्रोलियम पदार्थ खरिद गर्दथे’ कोइरालाले भन्नुभयो—‘अहिले नेपालमा भन्दा भारतमा पेट्रोलको मूल्य कम छ । जसले गर्दा सीमा क्षेत्रका नेपालीहरुले भारतमा गएर पट्रोल खरिद गर्छन् । जसको कारण आयात परिमाणमा कमी आएको छ ।’ साथै, सामान ढुवानीको लागि भारत गएका गाडीहरुले पनि उतैबाट पेट्रोल लोड गरेका आउँदा नेपालमा पेट्रोल आयात परिमाण घटेको उहाँको धारणा छ ।