विराटनगर : मोरङको निर्वाचन क्षेत्र नं ३ (१) प्रदेशसभातर्फ नेपाली कांग्रेसका मानबहादुर लिम्बूले टिकट पाएका छन् ।
उक्त क्षेत्रका उमेदवार शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले उनको ठाउँमा लिम्बूलाई उमेदवार बनाएको हो ।
नेपाली कांग्रेस प्रदेश नम्बर १ का उपाध्यक्ष रमेशजंग रायमाझीले लिम्बूले टिकट पाएको बताए । आजै मनोनयन दर्ता गरी चुनावी अभियान सुरु हुने रायमाझीले बताए । लिम्बू नेपाल विद्यार्थी संघ मोरङका पूर्वअध्यक्ष हुन् । उनी लामो समयदेखि कांग्रेसको जिल्लास्तरीय नेतृत्वमा छन् ।
प्रदेश नं. १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री थापाको बुधबार निमोनिया र डेंगी रोगका कारण विराटनगरको नोबेल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।
