२८ असार, मेचीनगर : शनिबार विहान ११ बजे गृह जिल्ला झापा आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओली दिनभरजसो झापा र इलामको अलग अलग कार्यक्रममा व्यस्त भए । विहान झापाको बुद्धशान्ति ३ मा रहेको भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली इलाम प्रस्थान गरेका थिए ।
नेपालकै पहिलो महिला प्रधानपञ्च भागीरथा न्यौपानेको स्मृतिमा उहाँका छोराछोरीले बुद्धशान्ति गाउँपालिका वडा नं. ३ निःशुल्क प्रदान गरेको १५ कठ्ठा जग्गामा निर्माण गरिएको अस्पतालको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।
स्व. भागीरथा न्यौपाने तत्कालीन बुधवारे गाउँ पञ्चायतको प्रधानपञ्च थिईन् उनकै स्मृतिमा अस्पतालको नामाकरण गरिएको बुद्धशान्ति गाउँपालिका एवम् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मनोज प्रसाईले बताए ।
६ करोड ५० लाख रुपैयाँको लागतमा १० शैयाको अस्पताल उद्घाटन गदैं प्रधानमन्त्री ओलीले उपचार सेवाबाट कोही पनि नागरिक वञ्चित हुनु नपरोस् भनेर सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको स्पष्ट पारे ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले करोडौं मूल्य बराबरको जमिन अस्पताल निर्माणलाई दान गरेपछि भागिरथा मात्र नभएर आफ्नै प्रस्तावमा अस्पतालको नाममा ‘भागिरथा न्यौपाने’ जोडिएको स्पष्ट पारेका थिए ।
भागिरथा न्यौपानेलाई आफुले राम्ररी चिनेको भन्दैं आफुले राजनीति नबुझ्दै भागिरथा न्यौपाने राजनीतिज्ञ भएको उनको भनाई थियो । प्रधानमन्त्री ओलीले भने, ‘पहिलो महिला प्रधानपञ्च हुनुहुन्थ्यो। जनताको सेवक हुनुहुन्थ्यो। त्यसैले उहाँको आधा नामबाट होइन पूरा नाम अस्पतालको नाममा समावेश हुनुपर्छ भनेर मैले नै प्रस्ताव गरेको हुँ।’

उनले यस अस्पतालको सञ्चालनपछि बुद्धशान्ति गाउँपालिकाका बासिन्दाले गुणस्तरीय र भरपर्दो आधारभूत स्वास्थ्य सेवा आफ््नै गाउँमा पाउने विश्वास व्यक्त गरे । बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल भवन पनि उद्घाटन गर्ने कार्यक्रम तय गरिएको भए पनि रिबन काट्ने बेलामा प्रधानमन्त्री ओलीले भागिरथा न्यौपानेका छोरा कुलप्रसाद न्यौपाने र जेठी बुहारी गंगादेवी न्यौपानेलाई खोजे । दर्शक दीर्घामा रहेका कुलप्रसाद न्यौपाने र गंगादेवी न्यौपानेलाई रिबन काट्न प्रधानमन्त्रीले बोलाए र न्यौपानेद्वयको हातबाट अस्पताल भवनको उद्घाटन गर्न लगाए ।
गत असोज १० गते उक्त अस्पताल भवनबाट सेवा शुभारम्भ गर्दा भागिरथा न्यौपानेका छोराहरू हरिप्रसाद तथा कुलप्रसादले संयुक्त अस्पताल भवनलाई रिबन काटेर त्यहाँबाट सेवा शुभारम्भ गराएका थिए । त्यो बेला विधिवत रुपमा उक्त अस्पतालको नाम भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल भइसकेको थिएन । यसअघि पटक÷पटक प्रयास गर्दा पनि जग्गादाताको नाम जोडेर उक्त अस्पतालको नामकरण हुन सकेको थिएन।
गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठक उक्त अस्पतालको नाम भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल स्वीकृति प्रदान गरेपछि स्वीकृत नामसहित अस्पताल भवनको शनिबार विधिवत उद्घाटन गरिएको बताइएको छ ।
२०७७ जेठ ३२ गते नेपाल रेडक्रस सोसाइटीको सानो भवनबाट सेवा शुभारम्भ भएको उक्त अस्पताल अहिले १० शैय्यामा सञ्चालित छ। अस्पतालले बिमा सुविधा, ल्याब, इको, भिडियो एक्सरेलगायत सुविधा उपलब्ध गराउने गरेको छ ।
अस्पतालको स्तरोन्नति र पहिलो तला निर्माणका लागि संघीय सरकारलाई पालिका अध्यक्ष मनोज प्रसाईंले माग पत्र बुझाएका छन् । उनले आफ्नो सम्बोधनका क्रममा अस्पताल स्थापना कालदेखि अहिलेसम्मका प्रगति सुनाएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले संघीय सरकारका तर्फबाट सकेसम्म सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अस्पतालमा एक जना एमडी, चार जना एमबीबीएस र एक जना रेडियोलोजिस्टसहित छ जना चिकित्सकले उपचार सेवा प्रदान गरिरहेका छन् । जसमध्ये पालिकाले आफ्नै स्रोतबाट तीन जना एमबीबीएस डाक्टर नियुक्त गरेको छ ।
बहिरंग र अन्तरंग चिकित्सकीय सेवा अन्तर्गत अस्पतालमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्री तथा प्रसुति उपचार, शिशु तथा बाल स्वास्थ्य उपचार, सामान्य दन्त सेवा, प्राथमिक आँखा उपचार, प्रयोगशाला सुविधा, फार्मेसी सुविधा, एक्स रे सुविधा र मुटुको इको सेवा सञ्चालन भइरहेको छ ।
यही साउन १ गतेदेखि अस्पतालमा २४ घण्टै उपचार र बर्थिङ सेवा प्रदान गरिने अध्यक्ष प्रसाईले बताउनुभयो । पालिकाले यही जेठ २६ गते भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८२ लाई बुद्धशान्ति राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको उहाँले जानकारी दिए ।
कार्यविधि अनुसार पालिकाका अध्यक्ष नै अस्पताल व्यवस्थापन समितिको पदेन अध्यक्ष रहने व्यवस्था छ । अस्पताल सञ्चालनका लागि कार्यविधिले छुट्टै कोषको समेत व्यवस्था गरेको छ ।
इलाम जिल्लासँग सीमा जोडिएको बुद्धशान्ति गाउँपालिकाको एक मात्र सरकारी अस्पतालको रुपमा रहेको यस भागीरथा अस्पतालले बुद्धशान्तिको ५३ हजार जनसंख्यालाई स्वास्थ्य उपचार सेवा प्रदान गर्नेछ भने दक्षिणी इलामबाट आउने सेवाग्राहीले समेत उपचार पाउनेछन् ।

झापाको अस्पताल उद्घाटन पछि प्रधामन्त्री ओलीले इलाम पुगेर माइ नगरपालिकामा नवनिर्मित माई नगर अस्पतालको उद्घाटन गरे ।
करिब दश करोड रुपैयाँको लागतमा १५ शैयाको अस्पताल निर्माण गरिएको थियो । अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स–रे, भिडियो एक्सरे, इसिजी, फार्मेसीलगायत सेवा सञ्चालन हुने जनाइएको छ । यस्तै प्रधानमन्त्री ओलीले माइ नगरपालिकाको वडा नम्बर १ देखि १० सम्म हुने गरेर निर्माण गर्न लागिएको माइ वृहत खानेपानी आयोजनाको शिलान्यास समेत गरेका छन् । यो आयोजनाको लागत करिब २५ करोड रुपैयाँ रहेको छ ।
सोही अवसरमा प्रधानमन्त्री ओलीले माई ४ का अव्यवस्थित बसोबासीलाई र भूमिहीन परिवारलाई लालपुर्जा प्रदान प्रधान गरेका छन् । यो वडाका १५२ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीलाई नगरपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र आर्थिक सम्भाव्यताका विषयमा तयार गरिएकोे माइ नगरपालिकाको वृत्तचित्र देखाइएको थियो ।
वृत्तचित्र हेरेपछि प्रधानमन्त्री ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै धेरै सम्भावना बोकेको माइ नगरपालिकामा भइरहेका विकासका कामले समृद्धिको आधार तयार गरेको बताए । माई नगरप्रमुख खम्बसिंह लिम्बूले प्रधानमन्त्रीलाई बुुझाएको विभिन्न प्रस्तावहरुका विषयमा सम्बोधन गर्दै ओलीले अबको दुुई वर्षभित्र माई नगरबासीलाई स्वस्थ्य खानेपानी पाउने विश्वास दिलाए । प्रधानमन्त्री ओलीले माइ नगर भएर गएको मदनभण्डारी राजमार्ग नसोचेको र कल्पना नगरेको ढंगले निर्माण भएको धारणा राखेका थिए । ओलीले वृत्तचित्र हेरेपछि माइ नगरपालिकामा देखिएको कृषिको सम्भाव्यतालाई इङ्गित गर्दै भने ‘नयाँ तरिकाले खेती गर्ने, नयाँ ढंगले पशुपालन गर्ने, नयाँ प्रविधिको प्रयोग गरेर आधुुनिक कृषिमा अगाडि बढ्नु पर्छ ।’

प्रधानमन्त्री ओलीले भने ‘विकास आउँछ । जनतालाई सुुविधा पुुग्छ । नगरपालिकाले काम गरेको छ । जहाँ काम भएको छ, त्यहाँ अझै काम हुुन्छ तपाई जनता, जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरु दृढ भएर काममा लाग्नुुहोस ।’ प्रधानमन्त्री ओलीले कृषि क्षेत्रमा सम्भावना राम्रो हुँदाहुँदै पनि रासायनिक विषादीको प्रयोग बढिरहेकाले त्यसलाई बन्द गर्न सबैलाई आग्रह गरे ।
माई नगर प्रमुखले नगरको शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाईं, पर्यटनलगायतका विषयमा समेटिएका विभिन्न प्रस्तावहरु प्रति प्रधानमन्त्रीले क्रमशःसहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्की, कोशीका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, यस्तै कोशीका आर्थिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी लगायत संघीय तथा प्रदेश सांसदहरुको सहभागिता उपस्थिति रहेको थियो ।
इलामबाट सोझै प्रधानमन्त्री झापा झरेर कन्काई नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सहभागी भए । भूमि समस्या समाधान आयोग जिल्ला समिति झापाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा वितरण गर्ने सम्बन्धी कार्यविधि, ‘२०८१’बमोजिम कन्काई नगरपालिका अन्तर्गतका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी प्रमाण —पुर्जा वितरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट जग्गाधनी प्रमाण —पुर्जा वितरण गरे ।
२०८ जनालाई जग्गाधनी प्रमाण —पुर्जा वितरण गर्ने भनिए पनि समय अभावका कारण प्रधानमन्त्री ओलीले पाँच जनालाई प्रदान गरेर विधिवत उद्घाटन गरेका थिए । कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोख्रेलको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।
