नेपालमा अहिलेसम्म करिब २६ जना बिरामीमा म्युकोरमाइकोसिस पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
तीन जेठयता महाराजगन्जस्थित शिक्षण अस्पतालमा करिब १३ जना कालो ढुसीको सङ्क्रमण अर्थात् म्युकोरमाइकोसिसका बिरामी भर्ना भएका छन् । अस्पतालका डा. रवीन्द्रभक्त प्रधानाङ्गका अनुसार एक जना म्युकोरमाइकोसिसका बिरामीको मृत्यु भएको छ भने दुईजनाको आँखा निकाल्नु परेको थियो । पछिल्लो पटक भर्ना भएका दुई बिरामीको पनि अवस्था गम्भीर रहेको उनको भनाइ छ ।
धेरैजसो बिरामी ढिलो अस्पताल आउँदा अवस्था जटिल भइसकेको र आँखा नै नदेख्ने हुने गरेको डा. प्रधानाङ्ग बताउँछन् । कोभिड र चिनीको मात्रा धेरै भएका मधुमेहका बिरामीमा नाक बन्द हुने, आँखा सुन्निने जस्ता समस्या देख्नेबित्तिकै म्युकोरमाइकोसिसको शङ्का गरेर उपचार गर्न अस्पताल जानुपर्ने हुन्छ । समयमै उपचार गरे बिरामीलाई निको हुन्छ ।
म्युकोरमाइकोसिसका बिरामीलाई एम्फोटेरिसिन बी नामको औषधि दिइने गरिन्छ । तर, अहिले उक्त औषधिको उपलब्ध नभएका कारण विकल्पको रूपमा पोसाकोनाजोल प्रयोग गरिरहेको मन्त्रालय तथा उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलका अनुसार भारतमा एम्फोटेरिसिन बीको औषधिको मूल्य १० हजार रूपैयाँ पर्छ ।
र, एकजना बिरामीको उपचारका लागि करिब ८० वटा भाइल (आठ लाख रूपैयाँ) आवश्यक पर्ने देखिएको छ । एम्फोटेरिसिन बीको तुलनामा पोसाकोनाजोल सस्तो भए पनि यसका साइड इफेक्टहरू धेरै छन् । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या घटिरहँदा म्युकोरमाइकोसिसका बिरामी पनि घट्ने अनुमान गरेको छ ।
म्युकोरमाइकोसिसका बिरामी एकदमै कम गतिमा बढेको पाइन्छ र सङ्क्रमण दर घट्दै जाँदा बिरामी पनि नदेखिने अनुमान रहेको डा. पौडेलले बताएका छन् । (बिबिसी)
