भोजपुरी सुपस्टार एवम् गायक खेसारीलाल यादव आउने भनेर पर्चा गरेर आयोजकले टिकट बिक्री गरेको तर बर्जु महोत्सवमा यादव नआएपछी उपस्थित भीडले स्टेज,साउण्ड सिस्टम तोडफोड र चार वटा स्कार्पिओ सवारी साधनमा आगजानी गरेको घटना आएसँगै देशभर दुई नाम चर्चित भए एक भोजपुरी सुपरस्टार खेसारीलाल यादव र अर्को बर्जु ताल। बर्जु तालको महिमा र प्रसिद्धिलाई ध्यानमा राखेर बर्जु महोत्सव पौष २३ गतेदेखी माघ ४ गतेसम्म लगाइएको थियो।
बर्जु ताल पूर्वको फेवाताल मानिएको बर्जु ताल विराटनगरको केसलिया रोडबाट १० किलोमिटरमा दूरीमा छ।
यो ताल सुनसरीको बर्जु गाउँपालिका– ६ स्थित चिमडी गाँउमा छ । बर्जु ताल दुहबीबाट ११ र इनरुवाबाट १८ किलोमिट दूरीमा पर्छ ।
१५२ बिगाहा क्षेत्रफलमा फैलिएको रहेको बर्जु ताल क्षेत्रमा तीन मुख्य ताल छन् । १५२, ७५ र ४५ बिगाहाका तीन तालले बनेको प्याकेज क्षेत्रलाई बर्जु ताल भन्ने गरेको वडाध्यक्ष विनोद चौधरीले बताए ।
पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाइमा रहेको यस तालमा नौकाविहार गर्नुको बेग्लै आनन्द छ ।
यो ताल चराको लागि पनि प्रसिद्ध क्षेत्र हो । कोसी पंक्षी समाजका अध्यक्ष सञ्जिव आचार्यका अनुसार बर्जु क्षेत्रमा करिब २ सय हाराहारी चराहरु भेटिन्छन् ।
तराई मधेसको जिवनशैली र संस्कृति भएको यस क्षेत्रसँग पौराणिक कथन पनि जोडिएको छ । पाँच पाण्डवले वनवास जाँदा यही तालमा यक्ष प्रश्नको सामना गरेको मान्यता रहीआएको छ ।निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि २०७५ चैत्र ३ गते यो तालको भ्रमण गरेका थिए।