१ फागुन , मेचीनगर : झापाको मेचीनगर — ६ काँकरभिट्टामा आइतबार बिहान आगलागी हुँदा दुईवटा घर जलेर ध्वस्त भएका छन् । काँकरभिट्टा प्रहरीका अनुसार आगलागीबाट भानु टोलका राकेश तामाङ र पासाङ तामाङको घर क्षणभरमै जलेर खरानी भए ।
बिहान साढे ९ बजेतिर शुरु भएको आगलागी विर्तामोड नगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी, नेपाल प्रहरी सशस्त्र प्रहरीको प्रयासबाट झण्डै दुईघण्टापछि नियन्त्रणमा आएको स्थानीय कृष्णबहादुर खवासले जानकारी दिनुभयो ।

दुबैघरभित्र रहेका लत्ताकपढा, भाडावर्तन, खाद्यन्नसहित कुनै पनि सामान बाहिर निकाल्न नपाएको पीडितहरुले बताएका छन् । पीडित राकेश तामाङका अनुसार उहाँको टिनको छानो भएको भुइृँ घरसहित घरभित्र रहेका सबै सामान जल्दा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
पासाङ तामाङको पनि लाखौं रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । आगो नियन्त्रणमा मेचीनगर नगरपालिकाले लापरवाही गरेको भन्दैं स्थानीय सरकारको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् । प्लेकार्ड बोकेर सडकको मध्यभागमा टायर बालेर सडक अवरुद्ध गरेका थिए ।जस्का कारण राजमार्गमा यातायातका सवै साधन ठप्प छन् । उनीहरुले नगरप्रमुख उपप्रमुखलगायत स्थानीय सरकारका विरुद्घ नारावाजी गरेका थिए ।
नगरपालिका क्षेत्रमा लगातार आगलागी घटना भए पनि मेचीनगर नगरपालिका गम्भीर नबनेको उनीहरुको आरोप छ । यता नगरपालिकाको बारुणयन्त्र अन्यत्र आगो निभाउने काममा गएकाले विर्तामोड नगरपालिकाको वारुण यन्त्र तत्काल मगाएको बताइएको छ ।


