२९ चैत,काँकडभिट्टा : नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य एवम् झापाका अग्रज पत्रकार माेहनकाजीले एमाले झापा सचिवालय सदस्य डिल्लीराम घिमिरेलाई आफ्नै घर फर्कन आग्रह गर्नुभएकाे छ । घिमिरेले मंगलवार पत्रकार सम्मेलन गरेर एमाले परित्यागकाे घाेषणा गर्नुभएकाे थियाे । त्यसपछि काजीले सामाजिक सञ्चालमार्फत घिमिरेलाई आफ्नै पुरानाे घर फर्कन आग्रह गर्नुभएकाे हाे । कहिल्यै नरूने घिमिरे पत्रकार सम्मेलनमा धुरूधुरू राेएकाे र घर छाड्नु परेकाे पीडाले राेएकाे भन्दै ४० वर्षसम्म बसेकै फर्कन काजीकाे आग्रह छ । काजीले नेता घिमिरेलाई सतिसशालकाे संज्ञा दिनुभएकाे छ । हेराै एमाले जिल्ला नेता एवम् पत्रकार काजीले नेता घिमिरेलाई घर फर्कन आग्रह गर्दै लेखेकाे पत्र ………
आदरणीय डिल्ली घिमिरे दाइ फर्किनुहोस् जहाँ पुग्नु भएको छ, त्यहीँबाट । चालीस वर्ष जुन घर बनाउन पसिना बगाउनुभयो, त्यसलाई कुनै पनि हालतमा चटक्कै माया नमार्नुहोस् । आज तपाईले मेरै अगाडि धुरुधुरु आँशु बगाउनुभयो । तपाई सानोतिनो पीरमा रुने मानिस होइन । मनमा असन्तुष्टि दन्कियो भने निभाउनतिर लाग्नु पर्छ । तपाई वर्षौदेखि माया गरेको आफ्नो घर त्याग्ने निर्णयमा पुग्नु पर्दा रुनु भयो । यसको अर्थ तपाईभित्र आफ्नो घरप्रतिको असाध्य माया छ भन्ने नै हो । बाहिर बाहिर जेसुकै भन्नुहोस्, जतिसुकै रिसाउनु होस्, तपाईले आजको पत्रकार सम्मेलनमा घरप्रति रुँदै रुँदै माया दर्शाउनुभयो । तपाईलाई घर छाड्न पटक्कै मन छैन । त्यसैले अरु कुरा सबै यथावत राखी फनक्कै फर्किनुहोस् आफ्नो घरतिर । तपाईले घरलाई माया गर्न सिकाएका असंख्य शुभचिन्तकहरु तपाई घर फर्किनु हुने विश्वासमा छन् । तपाई अब अर्को कुनै घरमा पस्नु होला भन्ने एकरति शंका छैन । तपाईलाई आफ्नो घरको यति धेरै माया छ कि अरुहरु यसरी घरको माया गर्दा रुन सक्दैनन् । तपाईले नै सतिसाल जस्तो बन्नु पर्छ भन्नुहुन्थ्यो । मैले बुझेको डिल्ली घिमिरे सतिसाल नै हो, जो कत्रा कत्रा आँधीबेहरी र तुफान आउँदा ढल्दैन, ढलेन । मैले चिनेको स्वाभिमानी डिल्ली घिमिरे अन्यायसँग लड्छ, हार मान्दैन । दाइ, यतिबेला तपाईको घरलाई ढाल्न, खरानी बनाउन र धुलिसात बनाउन अनेक गठबन्धन भइरहेका छन् । के एउटा कमान्डर मैदानमा शंख बजिसकेपछि कायर बन्न सक्छ ? घर भत्काउन खोजिरहेकाहरुको हन्जामा मिसिन सक्छ ? त्यसैले फर्किनुहोस्, जहाँ पुग्नु भएको छ त्यहीँबाट । तपाई आज मेरै अगाडि रुनु भयो । आँशु बर्बरी झार्नुभयो । दाइ विनम्रतापूर्वक अनुरोध गर्दछु कि यतिबेला तपाईहरुले आँशु झार्ने समय होइन । अस्पतालको मुख हेर्न नपाई कयौं गरीवहरु रोगका कारण मृत्युको मुखमा पुगेर निरुपाय बनेर रोइरहेका छन् । तिनका आँशु पुछ्ने बेला हो यो । मजदूरहरु दुई छाक खान नपाएर छटपटिएका छन् । तिनका आँशु पुछ्ने बेला हो यो । मिर्गौला र मुटुको रोगले थलिएका स्वजनको उपचारमा चन्दा उठाउँदा समेत नपुगेर धर्धरी रोइरहेका गाउँलेहरुको आँशु पुछ्ने बेला हो यो । क्षणिक पद, लाभ र अवसरका लागि मरिहत्ते गर्ने मानिस होइन भनेर सावित गर्दै आदरणीय डिल्ली दाई आफ्नै घर फर्किनु होस् ।

