लक्ष्मी उप्रेती
९ बैशाख, मेचीनगर : नेपालको पूर्वी काँकरभिट्टा नाका हुदैँ पैदलमार्ग भएर दैनिक २८ जना विदेशी नागरिकहरु नेपाल घुम्न आउने गरेका छन् । काँकरभिट्टास्थित अध्यगमन कार्यालयको अभिलेखले यसलाई पुष्टि गर्दछ ।
कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को साउनदेखि चैत महिनाको अन्त्यसम्म ‐नौ महिना)मा काँकरभिट्टा नाका भएर ८१ वटा देशका सात हजार छ सय ४२ जना विदेशी नेपाल घुम्न आएका छन् । सवैभन्दा बढि भुटानी नागरिकले यो नाका प्रयोग गर्ने गरेका छन् ।
काँकरभिट्टा नाका भएर नेपाल घुम्न आउने प्रमुख पाँचवटा देशहरुमा भुटान, अमेरिका, थाइल्याण्ड, अष्ट्रेलिया र युके रहेका छन् । कार्यालयको अभिलेख अनुसार नेपाल घुम्न आउने कुल विदेशी नागरिकको संख्यामध्ये सवैभन्दा बढी भुटानी नागरिकको संख्या ५४ दशमलव ३५ प्रतिशत वा चार हजार एकसय ५४ जना रहेको छ । यसैगरी, अमेरिकाबाट काँकरभिट्टा नाका भएर नौ महिनाको अवधिमा नेपाल घुम्न आउने नागरिकको संख्या २१ दशमलव शुन्य ९ प्रतिशत वा एक हजार छ सय १२ जना रहेको कार्यालय प्रमुख भट्टराईले बताए । थाईल्याण्डका पाँच सय २५ वा छ दशमलव ८५ प्रतिशत, अष्ट्रेलियाका दुई सय २९ वा दुई दशमलव ९९ प्रतिशत र युकेका एक सय ८२ जना वा दुई दशमलव ३८ प्रतिशत नागरिक नेपाल घुम्न आएका छन् ।
कार्यालय प्रमुख भट्टराई
विदेशीले काठमाडौं, पोखरा, लुम्बिनी, चितवन गोर्खा, मनकानमालगायतका धार्मिक एवम् पर्यटकीयस्थल घुम्न मन पराउने गरेका छन् । यो अवधिमा पूर्वी नाका भएर सात हजार छ सय ४२ विदेशी तीन हजार दुई सय ८८ नेपाली गरी कुल १० हजार नौ सय ३० जना पर्यटक नेपाल प्रवेश गरेका छन् । साउनदेखि चैतसम्ममा पूर्वी नाकाबाट अमेरिका, बेलायत, भूटानलगायतका मुलुकबाट पर्यटकहरु नेपाल भित्रिएका हुन् । कार्यालय प्रमुख भटट्राईले साउनमा दुई सय ८४, भदौमा दुई सय १९, असोजमा पाँच सय ४१, कात्तिकमा छ सय २४, मंसिरमा आठ सय ७३, पुसमा एक हजार आठ सय ५०, माघमा एक हजार तीन सय ९५, फागुनमा एक हजार पाँच जना र चैतमा आठ सय ५१ जना पर्यटक भित्रिएको जानकारी दिए ।
नेपालीहरु भने साउनमा एक सय ९८ , भदौमा एक सय ७९, असोजमा पाँच सय ६९, कात्तिकमा एक सय ६१, मंसिरमा दुई सय ९१ , पुसमा पाँच सय २३, माघमा चार सय ३८, फागुनमा सात सय ७४ र चैतमा एकसय ५५ जनाले यो नाका प्रयोग गरेर नेपाल आएका छन् ।
सोहि अवधिमा नौ हजार नौसय ४२ जना मानिस यो नाकाहुदैं प्रस्थान गरेको कार्यालयले जनाएको छ । साउनमा तीन सय ९, भदौमा दुई सय ३९, असोजमा तीन सय ८०, कात्तिकमा सात सय १३, मंसिरमा सात सय ५७, सात सय ५७, पुसमा एक हजार पाँच सय ३१ माघमा एक हजार छ सय २५, फागुनमा नौ सय ९८ र चैतमा सात सय ५४ जना विदेशी पर्यटक यो नाका भएर बाहिरिएका छन् । यसैगरी साउनमा एकसय ६३, भदौमा एक सय २५, असोजमा पाँच सय ३७, कात्किमा दुई सय २९, मंसिरमा एक सय ७२, पुसमा दुई सय चार, माघमा दुई सय १९, फागुनमा एक सय ९८ र चैतमा सात सय ८९ गरी कुल दुई हजार छ सय ३६ जना नेपाली बाहिरिएको कार्यालयले जनाएको छ । कुल २० हजार आठ सय ७३ जना सेवाग्राहीले यो कार्यालयबाट सेवा लिएको उनले बताए ।
गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा नेपाल प्रवेश गर्नेको संख्या चार सय २८ ले कमि हो भने, विदेशी नागरिकको संख्यामा एक सय छ जनाले बृद्धि भएको छ । नेपालीहरुको आगमनको संख्या कम भएको छ । एक सय एकजना भन्दा बढी यो नाका भएर प्रस्थान गरेका छन् ।
कार्यालयले पर्यटक भिसा, नाता भिसा, वैवाहिक भिसा र गैरआवसीय भिसा गरी चार प्रकारका भिसा जारी तथा नविकरण गर्ने गरेको छ । कार्यालयले चालु आवको पहिलो नौ महिनामा छ हजार छ सय ९१ वटा पर्यटक भिसा, एकसय २४ वटा नाता भिसा, २६ वटा वैवाहिक भिसा र ३६ वटा गैरआवसीय भिसा जारी गरेको छ । भिसा जारी गरे वापत दुई करोड ८० हजार पाँच सय २० रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । १९ जनालाई अध्यागमन विभाग, काठमाडौंमा सम्पर्कका लागि पठाएको छ ।
एक महिनामा ३१ लाख बढी राजस्व संकलन
वितेको चैत महिनामामात्र कार्यालयले ३१ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ । भिसा जारी वापत ३१ लाख २९ हजार चार सय ११ रुपैयाँ राजस्व संकलन गरेको हो । यो महिना आठ सय ११ वटा पर्यटक भिसा, १५ वटा नाता भिसा, तीन वटा वैवाहिक भिसा र पाँच वटा गैरआवसिय भिसा जारी गरेको थियो । चैत महिनामा काँकरभिट्टा नाका भएर एक हजार छ जना नेपाल प्रवेश गरेका छन् भने, एकहजार पाँच सय ४३ जना प्रस्थान गरेका छन् । कुल दुई हजार पाँच सय ४९ जना प्रवेश र प्रस्थानको सेवा लिएका छन् ।
यो महिना चार सय एकजना वा ४७ दशमल व १२ प्रतिशत भुटान, एक सय ५८ वा १८ दशमलव ५६ प्रतिशत अमेरिका, ८८ जना वा १० दशमलव ३४ प्रतिशत थाईल्याण्ड,३९ जना वा चार दशमलव ५८ प्रतिशत बेलायत र २० जना वा दुई दशमलव ३५ प्रतिशत इजराइलका नागरिक नेपाल घुम्न आएका छन् ।





















