मेचीनगर,जेठ ३ । पश्चिमी न्यून चापीय प्रणाली र पूर्वीमध्य अरब सागरमा रहेको सामुद्रिक आँधी ‘चक्रवात’को प्रभाव कारण देशभर बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान देशभर सामान्य बदली रहेको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ ।
यस्तै, महाशाखाका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पहाडी भू–भाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैबिच आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।
