मेचीनगर, १६ बैशाख | किराती जातीहरुको समाधी स्थलमा मेचीनगर नगरपालिकाले डोजर लगाएको विरोधमा विहीबार तीनवटा जातीय संघ संगठनले मेचीनगर नगरपालिकामा विहीबार ज्ञापन पत्र बुझाएका छन् । मेचीनगर— ६ स्थित मेची पल मुनि किराती जातीहरुको समाधी स्थल रहेको थियो ।
नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषद, किरात याक्थुङ चुम्लुङ मेचीनगर र किरात राई यायोक्खाले नगर प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई ज्ञापन पत्र बुझाएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषदका अध्यक्ष ओमप्रकाश खापुङ, किरात याक्थुङ चुम्लुङ मेचीनगरका दिलीपजंग सुब्बा र किरात राई यायोक्खा झापा जिल्ला सचिव केवलराम राई नेतृत्वको टोलीले नगर प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई ज्ञापन पत्र बुझाएको हो । किरातीहरुको आस्था, धार्मिक संस्कार पितृहरुसँगको भावानात्मक नाता गासिएको पवित्र समाधिस्थल मानि कुनै सहमति नलिई आक्रमण भएको र यसलाई सिङ्गो धार्मिक जातीय समुदाय माथिको ठाडो हस्तक्षेप भएको ठहर गदैं दोषीमाथि कडा भन्दा कडा कारवाहीको माग ज्ञापन पत्रमा गरिएको छ । संक्षिप्त विरोध सभामा किरात राई यायोक्खा झापा जिल्ला सचिव केवलराम राईले सम्बोधन गर्नुभएको थियो ।
मेचीनगर वडानम्बर ६, नेकपा एमाले मेचीनगर कमिटी, नेपाली काँग्रेस मेचीनगर समिति, नेकपा माओवादी केन्द्र मेचीनगर, जसपा मेचीनगर र राप्रपा मेचीनगरलाई ज्ञापन पत्रको बोदार्थ दिइएको छ । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख आचार्यले सर्वपक्षिय सर्व दलिय छलफलबाट समस्याको समाधान खोज्ने बताउनुभयो ।
