काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताउनु भएको छ । शनिबार बिहान फेसबुकमार्फत प्रतिगमन दोहोरिएको टिप्पणी पनि गर्नुभएको छ। संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएको वहाँको दाबी छ ।
नेता नेपालले संसद् विटन गरे चुनावको घोषण गर्नु प्रतिगमन भाग – २ भएको पनि बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमको भत्र्सना गर्दै यसको प्रतिवाद डटेर गर्न आह्वान पनि गर्नुभएको छ।
“षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ,” वहाँले भन्नुभएको छ ।

