२१ फागुन, ज्यामिरगढी : ५२ औँ सुखानी शहीद स्मृति दिवसका अवसरमा बुधबार झापाका अलग अलग स्थानमा विविध कार्यक्रम सम्पन्न भएको छ । २०२९ साल फागुन २१ मा पञ्चायती शासकविरुद्ध भएको झापा विद्रोहमा पाँच जना योद्धा सहिद भएका थिए । झापा आन्दोलनका अगुवाहरूलाई पञ्चायती शासकले गोली हानी हत्या गरेको दिन हो फागुान २१ ।
नेपाली कम्युनिस्ट आन्दोलनको कोसेढुंगाका रूपमा लिइने ‘झापा विद्रोह’ का पाँच सहिदले सहादत प्राप्त गरेको दिन फागुन २१ लाई कम्युनिस्ट पार्टीले विशेष रूपमा लिने गरेका छन् । सोहि दिनको स्मरण गरेर फागुन २१ अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भनेर कम्युनिष्टहरुले भन्दै आएको ‘झापा विद्रोह’ को ५२ वर्ष पुगेको छ ।

आजै २०२९ फागुन २१ कम्युनिस्ट आन्दोलनका योद्धा नेत्र घिमिरे, वीरेन राजवंशी, रामनाथ दाहाल, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई इलामको दानाबारी (हाल माई नगरपालिका) स्थित सुखानी जंगलमा गोली हानी हत्या गरिएको थियो । झापाबाट इलाममा जेल सार्ने बहानामा प्रहरीले गोली हानी हत्या गरेको घटना ‘सुखानी काण्ड’ का रूपमा चर्चित रहेको नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) केन्द्रीय सदस्य मीना पोख्रेल उप्रेतीको भनाई छ ।
सुखानी हत्याकाण्डले परिचित ५ जनाको हत्या भएको बर्षौपछि मात्र शहिद घोषणा गरिएको थियो । झापा विद्रोहको क्रममा लामो समय जेल जीवन बिताउनु भएका हाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्री कालमा २०७२ फागुन १९ गते सरकारले उनीहरूलाई शहीद घोषणा गरेको बताईएको छ । सरकारले झापा विद्रोहकै क्रममा मारिएका चन्द्र डाँगी, पञ्चायती व्यवस्थाविरुद्ध लडेकै कारण मारिएका इलामका रत्नकुमार बान्तवा, ताप्लेजुङका हरि नेपाल लगायत २२ जनालाई शहीद घोषणा गरेको थियो । अहिले सुखानीमा शहीद स्मारक बनाएर राजनीतिक पर्यटकीय स्थलको रूपमा विकास गरिदैं लगेको पाइन्छ ।
पाँचजना वीर शहिलले शाहदात प्राप्त गरेको झापा र इलामको संगमस्थल माई नगरपालिकाको दानाबारीस्थित सुखानी र झापाको मेचीनगर नगरपालिका —१५ ज्यमरिगढी स्थित शहिद वीरेन राजवंशीको शालीक रहेको स्थानमा अलग अलग कार्यक्रम सम्पन्न भए ।
नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) झापा र इलाम जिल्ला कमिटीको संयुक्त आयोजनमा माई नगरपालिकाको दानाबारीस्थित शाहदात स्थल सुखानीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष गुरु वरालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । यसैगरी, नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) मेचीनगर कमिटिको आयोजनामा झापाको मेचीनगर नगरपालिका —१५ शहिद वीरेन राजवंशीको शालीक रहेको स्थान शहीद वीरेन स्मृति प्रतिष्ठान, ज्यामिरगढीमा श्रद्धाञ्जली सभासहित शहीद परिवारलाई सम्मान गरिएको छ ।
पार्टीका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य रविन कोइराला प्रमुख अतिथि र पार्टीका केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेती विशिष्ट अतिथि रहेको कार्यक्रममा प्रतिष्ठान परिसरमा रहेको शहिद राजबंशीको सालिकमा माल्यार्पण गरेर सुरु भएको कार्यक्रममा शहिद वीरेन राजबंशीका जेठा छोरा नेत्र र वुहारी विमला राजबंशी, सहिद छविालाल राजवंशीका छोरा कुमार मेचे, झापा विद्रोहमा १७ वर्ष जेल जीवन बिताएका याद्धा सानो दुर्गा अधिकारीलाई अविर टिका र दोसल्लाले सम्मान गरिएको थियो ।
वि.सं. २०२८ सालदेखि झापामा कम्युनिस्टहरूले तत्कालीन पञ्चायती शासनको दमन विरुद्ध आन्दोलन गरेको, त्यो समय पञ्चायती शासन विरुद्ध विद्रोह गर्नु धेरै नै चुनौती र काष्ठप्रद रहेको सहभागी वक्ताहरुको भनाई थियो । झापाका केही कम्युनिस्टहरूले वर्ग शत्रु खत्तम अभियान चलाएका थिए । वर्ग शत्रु खत्तम अभियान अन्तर्गत बि.स.२०२८ साल जेठ २ मा रामनाथ दाहालको नेतृत्वमा झापाको ज्यामिर गडीका एक जमिनदारको हत्या भएको थियो । झापा विद्रोहको सुरुवात यहीबाट भएको जानकारहरू बताउँछन् ।
झापा आन्दोलनका अर्का जिउँदा इतिहास वागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले आफूहरूसँगै पञ्चायत विरुद्ध लडेका साथीहरूको जेल सार्ने बहानामा लगेर हत्या गरेको र आफूहरूलाई मलामी जान समेत नदिएको पीडा सुनाउनु भयो । नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य प्रसाई त्यो फागुन २१ को घटना क्रूरताको पराकाष्ठा भएको बताउनु हुन्छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य हरिचरण बानियाँ, कम्युनिस्ट योद्धा एवम् अग्रज पत्रकार चन्द्र भण्डारीलगायतले शहीदले कोरेको गोरेटोमा हिड्न भन्दैं उनीहरुले देश र जनताको लागि गरेकोे योगदानको स्मरण गदैं कसैले पनि शहीदको बलिदानी भुल्न नहुने स्पष्ट पारेका थिए । नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) मेचीनगर अध्यक्ष राजु कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पदमलाल गौतमले स्वागतसहित गरेका प्रतिष्ठानको गतिविधिको चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (एमाले) केन्द्रीय सल्लाहकार परिषद सदस्यद्वय विष्णुप्रसाद प्रसाई, भीम खवास, पार्टीका केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिका उपप्रमुख एवम् एमाले केन्द्रीय सदस्य मीना पोखरेल उप्रेती, कोशी प्रदेश कमिटी सदस्य एवम् मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, एमाले कोशी प्रदेश कमिटीसदस्यहरु श्रीप्रसाद मैनाली, देवकुमार राईलगायत पार्टीका प्रदेश, जिल्ला, क्षेत्र, नगर,गाउँ, वडा तथा टोल कमिटीका प्रमुख प्रतिनिधिसहित शहीद परिवारहरु र सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) मेचीनगर–१५ वडा कमिटीका अध्यक्ष चेतन बिष्टले गरेका थिए ।
शहीद वीरेन स्मृति प्रतिष्ठानको व्यवस्थापनमा भएको कार्यक्रममा राजवंशी संस्कृतिक झल्किने नृत्य प्रस्तुत गरिएको थियो । यसैबीच नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) जिल्ला कमिटीको समन्वय र जनसाँस्कृतिक महासंघको आयोजनामा नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) जिल्ला पार्टी कार्यालय झापामा श्रद्धञ्जलीसहितको श्रष्टा आवाज जनवादी सांस्कृतिक कार्यक्रम भएको छ ।



