१० असार, मेचीनगर : मेचीनगरका क्रियाशील पत्रकारहरुको साझा संस्था प्रेस क्लब मेचीनगरको भवन निर्माणका लागि आगामी आर्थिक बर्ष ०७८/०७९ मा मेचीनगर नगरपालिकाले १२ लाख रुपैयाँ विनियोजन गरेको छ । बिहीबार नगरपालिकाको आठौं नगर सभाका अवसरमा नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले १ अर्ब ५३ करोड ६३ लाख २९ हजार ३ सय ५४ रुपैयाँको वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुत वजेट वक्तव्यको सुशासन तथा क्षमता विकासतर्फको शीर्षकमा प्रेस क्लब मेचीनगरको भवन निर्माणका लागि १२ लाख रुपैयाँ छुट्टयाईएको छ । केही दिनअघि क्लबले भवन निर्माणका लागि रकम विनियोजनका लागि नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझालाई भेटेर त्यस विषयमा छलफल गरेको थियो । अब केही दिनमा जग्गाको व्यवस्थापन गरेर भवनको शिलान्यास गरिने क्लबका सचिव जीआर धितालले बताउनुभयो ।
यसैगरी नगरपालिकाले नगर बुलेटिन प्रकासनका लागि ६ लाख, रोडियो कार्यक्रमका लागि ६ लाख, टेलिभिजन कार्यक्रमका लागि ४ लाख, दैनिक तथा साप्ताहिक पत्रपत्रिकाका लागि प्रकाशन सहयोग कार्यक्रम अन्तर्गत ३ लाख, अनलाईनका लागि ७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यसैगरी, नेपाल पत्रकार महासंघको साझेदारीमा पत्रकारिता छात्रवृत्ति तथा तालिम कार्यक्रमका लागि २ लाख रुपैयाँ विनियोजन गरेको छ ।