२१ भदौ, मेचीनगर : माध्यमिक विद्यालय शिक्षक यूनियन नेपाल हिस्टुनले १६ शुत्रिय माग अघि सादैंँ मंगलबार मेचीनगर नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । हिस्टुनको केन्द्रीय समितिको निर्णय अनुसार मेचीनगर शिक्षा अधिकारी मार्फत नगर प्रमुख र उपप्रमुखलाई ध्यानाकर्षण पत्र पठाएको हो । माध्यमिक विद्यालय शिक्षक यूनियन नेपाल हिस्टुन मेचीनगरका अध्यक्ष फाल्गुणीकुमार दाहालको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलले नगर शिक्षा अधिकारी एवम् निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारीलाई उहाँकै कार्यकक्षमा ध्यानाकर्षण पत्र बुझाएको थियो ।
भदौं १७ र १९ गते देशभरका ७ सय ५३ वटा पालिका प्रमुखहरु र केन्द्रमा प्रधानमन्त्री, शिक्षामन्त्री, अर्थमन्त्री, शिक्षा सचिव, सरकारमा विपक्षी दलका नेतालाई ज्ञापन पत्र बुझाउने माध्यमिक विद्यालय शिक्षक यूनियन नेपाल हिस्टुनको निर्णय अनुसार मेचीनगरमा ध्यानाकर्षण पत्र बुझाइएको मेचीनगर अध्यक्ष फाल्गुणी दाहालले जानकारी दिनुभयो ।
साविक उच्च माध्यमिक विद्यालय तहको स्वीकृत दरबन्दीमा संघीय शिक्षा ऐन लागू हुँदाका बखतसम्म अविछिन्नरुपमा कार्यरत शिक्षकलाई मावि द्वितीय श्रेणीमा एक पटकाका लागि उमेरको हद नलाग्ने गरी शिक्षक सेवा आयोगबाट विशेष आन्तरिक प्रतियोगिताबाट स्थायी पदपूर्ति गरिनुपर्ने, साविकको उच्च मावि तह अनुदान कोटाका शिक्षक पदलाई स्वीकृत दरबन्दीमा परिणत गरी बुँदा नम्बर १ बमोजिम आन्तरिक प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गरिनुपर्ने, प्राविधिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुलाई समेत आवश्यक दरबन्दी सिर्जना गरी आन्तरिक प्रतिस्पर्धाद्वारा स्थायी गरिनुपर्नेलगायतका माग ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
माध्यमिक विद्यालय शिक्षक यूनियन नेपाल हिस्टुनका केन्द्रीय अध्यक्ष दीपकराज सुवेदी र महासचिव टीकाप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा सामुदायिक साविक उच्च मावि तहको विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई आन्तरिक विशेष प्रक्रियाद्वारा स्थायी गरिनुपर्ने, साविक उच्च मावि तहमा अनुदानमा कार्यरत शिक्षकहरुलाई तत्काल स्थानीय भत्ताको व्यवस्था गर्नुपर्नेलगायतका माग समेटिएको छ । आफ्ना मागप्रति सम्बन्धित पक्ष सकरात्मक र गम्भीर नदेखिए कडा आन्दोलका कार्यक्रमहरु सार्वजनिक गरिएको छ । माध्यमिक विद्यालय शिक्षक यूनियन नेपाल हिस्टुनका मागहरुप्रति सरकारद्वारा सम्बोधन हुन चासो नदेखाएमा वा सुनुवाई नभएमा भदौ २३ गते पत्रकार सम्मेलन जिल्ला, प्रदेश, र केन्द्रमा गरी कडा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने अध्यक्ष दाहालको भनाई छ ।